यात्रा संस्मरण-१
अचम्मको 'ओलाङ्चुङगोला'
- भानेन्द्र सम्बाहाम्फे 'जुझारु'
म पेशाले जलविध्युत उत्पादनको लागि सर्वेक्षण, अन्वेषण र उत्पादनसँग सम्बन्धित छु । यसै पेशाको धर्म निभाउने सिलसिलामा म र अर्को एकजना साथी मिलेर 'कञ्चनजङ्घा इनर्जी डेभलपर्स कम्पनी प्राइभेट लिमिटेड्' नामक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा बग्ने प्रसिध्द 'तमोर नदी’बाट ९० मेगावाट क्षमताको 'माथिल्लो तमोर-ए जलविध्युत आयोजना’को लागि 'उत्पादनको लागि सर्वेक्षण अनुमतिपत्र' पाउँन नियमानुसारको दस्तुरसहित नेपाल सरकारको उर्जा मन्त्रालयमा निवेदन दर्ता गरी २०६२ सालमा सर्वेक्षण अनुमतिपत्र अर्थात् लाईसेन्स् प्राप्त गर्यौँ । लाईसेन्स् प्राप्त गरेपछि शर्तानुसार कार्य शुरु गर्नुपर्ने हुन्छ । सर्वेक्षण कार्य शुरु गर्ने उद्देश्यका साथ सर्वेक्षण कार्यसँग सम्बन्धित सर्वेक्षक, प्राविधिक, विशेषज्ञ, पत्रकार, क्यामेरामेन, कम्पनीका साथीहरु र म काठमाडौँबाट कम्पनीले व्यवस्था गरेको गाडीमा पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाम 'फुङ्लिङ बजार'तर्फ प्रस्थान गर्यौँ । काठमाडौँबाट हिँडेको २ दिनपछि हामी पहिलो गन्तव्य ताप्लेजुङ्को 'फुङ्लिङ बजार' पुग्यौँ ।
'फुङलिङ्'मा तीन दिनको बसाइपछि ८-९ जना भरियाहरुको साथमा स्थानीय पत्रकार मित्र धर्म पौडेलको सहयोगमा ढिलोगरी 'फुङलिङ्'बाट प्रमुख तथा अन्तिम गन्तव्य 'ओलाङचुङ्गोला'तर्फको पहिलो दिनको यात्रा शुभारम्भ गर्यौँ । ढिलोगरी यात्रामा निस्केकाले र व्यस्थापनको तयारी गर्नुपर्ने कारणले हामी 'फुङलिङ्'बाट नजिकैको स्टेसन मतलब बास बस्ने ठाउँ 'सिवाँ बजार'सम्म मात्रै मुस्किलले पुग्यौँ । पहाडमा साँझपरेपछि उज्यालोको व्यवस्था नहुनु प्रमुख यसको कारण रह्यो । हामीले यात्राको लागि भनेर उज्यालोको प्रबन्ध राम्ररी गरेका रहेनछौँ भन्ने अनुभूति भयो जतिखेर तमोरको किनारैकिनारै ज्यान हत्केलामा राखेर हामीले यात्रा गर्नुपरेको थियो । निष्पट अँध्यारो औँशीको रात, तमोर किनारको गोरेटो बाटो, तलतिर डरलाग्दोगरी गडगडाइरहेको तमोर नदी, प्रायजसोले आफ्नो लत्ता-कपडा आफैँले बोकेका, सामानले टम्म भरिएका भारी बोकेका भरियाहरु र म तर उज्यालोको नाममा सबैसँग पिल्पिले चाइनीज लाईटर मात्रै थियो । यसैकारण हामी मनभरी डर बोकेर खरको बुट्टा समात्दै राती कहिले खोला बगर हुँदै, कहिले ठाडो उकालो-ओरालो चढ्दै-ओर्लँदै मुस्किलले दूरी छोट्याउदै माथि भनिएको ठाउँ 'सिवाँ बजार'मा बास बस्न पुग्यौँ । यात्रामा साथ दिने नेपालका चर्चित् लेखक तथा पत्रकार मेरा आदरणीय दाइ भवानी बराल जसलाई पूर्वमा 'साइला बराल'को नामले सम्बोधन गर्छन्, उहाँ 'सिवाँ बजार'कै प्रतिष्ठित् बराल परिवारको सदस्य हुन्हुन्छ । उहाँहरु धेरै वर्ष पहिले 'सिवाँ बजार' छोडी धरान झर्नुभएको थियो तर पनि उहाँहरुको पुर्ख्यौली थातथलो अझैँ पनि त्यहीँ छ । उहाँहरुको पूरानो घर जीर्णावस्थामा रहेको पाइयो । हामी उहाँकै त्यही मूल घरमा बास बस्यौँ । उहँको त्यो घर स्थानीय शिक्षकले डेराको रुपमा प्रयोग गर्नुभएको रहेछ । १७-१८ जनाको जत्थालाई त्यहाँ व्यवस्थित रुपले बास बसाउनलाई उहाँ (साइला बराल)लाई हम्मे-हम्मे नै पर्यो तर उहाँका छरछिमेकी र नातागोताको घरमा मिलेर बस्यौँ । कोही साइला दाइकै पूरानो घरमा सुत्यौँ त कोही बाहिर आँगनमा टेन्ट टाँगेर सुत्यौँ । हामीले राम्ररी नै रात काट्यौँ । खानाचाहिँ विवाहको भोज (भातेर) जस्तै भयो । जसोतसो गरेर भए पनि हाम्रो बसोबास र खानाको प्रबन्ध गरिदिनुभएकोमा साइला दाइलाई धन्यबाद दियौँ ।
भोलिपल्ट बिहानै उठ्यौँ । कुक भाइ र भरिया भाइहरुले चिया बनाएका थिए । चिया पियौँ र हामी दोस्रो दिनको यात्राको लागि तयारीमा जुट्यौँ । केही साथीहरु र भरिया अझैँ फुङलिङ्मै छुटेकाले सल्लाहनुसार एकछिन् पर्ख्यौँ तर सबैले पर्खेर बस्नुको औचित्य नखेर केही मात्रै बसेर अरु बाटो लाग्यौँ । धेरै सङ्ख्यामा यात्रा गर्नुपर्दा अघिपछि हुने त भई नै हाल्दोरहेछ । हाम्रो यात्रा पनि यो रोगबाट मुक्त रहेन । कोही अघि त कोही पछिपछि लाग्यौँ । काठमाडौँबाट गएका हामीभन्दा स्थानीय साथीहरु र भरियाहरु स्वभाविकरुपमै हामीभन्दा छिटो हिड्ने भइनै हाले । त्यसैले उहाँहरुले नै यात्राको अग्रीम मोर्चा सम्हाल्नु भयो, हामी उहाँहरुको पछिपछि लाग्यौँ । 'ताप्लेजुङ्' जिल्ला पूर्वी पहाडी जिल्लाहरुमा ज्यादै विकट जिल्लाको रुपामा चिनिन्छ । तमोर किनारको बाटो भएकोले र गोरेटो भएको हुँदा बाटो विकट हुने त छँदै थियो त्यसमा पनि कतिपय ठाउँमा पहिरो जानाले झनै विकट अनुभव हुन्थ्यो । बस्ती पातलो हुनुले झनै समस्या थियो । बीच बाटोमा तिर्खा लाग्दा पिउने पानीसमेत पाइदैनथ्यो । बाटोमा गाउँ भेट्न धेरै दूरी पार गर्नुपर्थ्यो । बाटोमा फाट्टफुट्ट मात्र यात्रीहरु भेटिन्थे । गजबको घटना घट्यो त्यो दिन । प्रसङ्ग अघिल्लो दिनको यात्राको अन्ततिरको हो । 'सिवाँ' र 'फुङलिङ बजार'को यात्रा खण्डमा 'मित्लुङ्' भन्ने स्टेसन छ । हामी 'मित्लुङ्' पुग्दा झमक्कै रात परिसकेको थियो । भोक र थकाइले पनि त्यतिकै सताइरहेको थियो । 'मित्लुङ्'मा एउटा पसल रहेछ । अरु मान्छेहरु पनि त्यहाँ थकाइ मार्न बसेका रहेछन् । तिर्खा पनि लागेको थियो । पानी खान भनेर केही साथी बसे । त्यतिकैमा हामीले पनि पसलमा केही खाने कुरा पाइन्छ कि भनेर दोकाने साहुनीलाई सोध्यौँ तर भर्खरै भएको 'केरा' (कोला) पनि सकिएछ । हामी हतास् हुँदै दोकानबाट निस्क्यौँ । त्यतिनै खेर कसैले हामीलाई बोलायो । हेरेको त एकजना अधवैंशे लोग्ने मान्छे रहेछ । झट्ट हेर्दा 'लिम्बू' जस्तै लाग्ने । अनि मैँले 'सेवारो' भने । उसले पनि 'सेवारो' भनेरै फर्कायो । हामीलाई कहाँबाट आएको र कहाँ जाने भनेर सोध्यो । हामीले पनि सोझो जवाफ दियौँ । काठमाडौँबाट आएको र 'ओलाङ्चुङ्गोला' हिँडेको भन्यौँ । उसले यसकरण पनि जिज्ञासा राख्यो किनभने हामीसँग भएका भरियाले सर्वेक्षणको लागि चाहिने मेसिन बोकेका थिए । उ जाँडले मातेको आभास हुन्थ्यो उसको बोलीबाट । हामीले त्यो दिनको बास 'सिवाँ बजार'मा बस्ने योजना बनाएका थियौँ र त्यसै भन्यौँ उसलाई । उ पनि त्यही बस्ने सोचमा रहेछ । उसले भन्यो- "ए ! हामी पनि त्यहीँ बास बसेर भोलि ओलाङ्चुङ्गोला जान्छौँ । सँगै जाऔँ है सर !" हुन्छ नि दाइ भनेँ मैँले र छुट्टियौँ ।
त्यो दिन त भेट हुने कुरै थिएन तर भोलिपल्ट पनि हाम्रो भेट भयो । लक्ष्यतर्फको बाटोको दूरी घटाउदै जाँदा बिहानको त्यस्तै १० बजेको हुँदो हो उकालोमा उनै मान्छेसँग भेट भयो जसलाई हिजो 'मित्लुङ्'मा भेटेका थियौँ तर ऊ एक्लो नभएर उसका साथमा अरु तीनजना आइमाई मान्छेहरु पनि थिए तर अलि तलमाथि भएकाले हाम्रो बोलचाल भने भएन । उनीहरु हामीभन्दा अगाडि थिए । टिठ्लाग्दो उकालो, धेरै समयपछि पहाडी यात्रा गर्नुपरेकोले पनि हाम्रो अवस्था थकित् र मायालाग्दो थियो । उनीहरु हामीभन्दा पहिले उकालो सकेर माथि चौतारामा बसेर हावा खाइरहेका थिए । हामी भने चिप्ले किरा घस्रेझैँ बिस्तारै उकालो चड्दै थियौँ । उनीहरुले हामीलाई नियालिरहेका रहेछन् किनभने हामीलाई उकालोले टेरेको थिएन । त्यसमाथि मलाई त्यो दिन अचम्मै भोक लाग्यो । यहाँसम्म कि मेरा पाइला अघि बढ्नै छोडे । मानौँ कि बीच बाटैमा चल्ती गाडीको थोपै नरही पेट्रोल सिध्दियो । अनि म ठूलो ढुङामा अडेस् लागेर बसेँ ज्यान लत्र्याकलुत्रुक पारेर । पारी डाँडा हेरेँ, तल तमोर आफ्नै तालमा बगिरहेको थियो । म भने भोकले आलस्-तालस् भैरहेँ । आफैलाई आफैँसँग लाज पनि लाग्यो तर के नै पो गर्न सक्थेँ र भोकको सामू ! मेरो शरिरमा चिटचिट गरेर चिसो पसिना आयो । रिङ्गटा लागेजस्तो भयो । आफूलाई सम्हाल्न खोजेँ । एकैछिनको बसाइपछि फेरि उकालो चढ्न थालेँ । नचढी सुखै थिएन किनभने लक्ष्य राख्ने नै म आफैँ थिएँ । केही समय थकाइ मारेपछि उकालो चढ्न थालेँ । माथि चौताराबाट उनीहरु हामीलाई हेरिरहेका रहेछन् । एकछिनको उकालो चढाइपछि म र साथीहरु चौतारामा पुग्यौँ । त्यो बेलासम्म पनि उनीहरु चौतारामै बसिरहेका थिए । उनीहरु 'ओलाङ्चुङ्गोला'का स्थानीय बासिन्दा रहेछन् । विशेष कामले उनीहरु जिल्ला सदरमुकाम 'फुङलिङ्' झरेका रहेछन् । म खुई काढ्दै चौतारामा मज्जाले बसेँ र झोला राखेँ । पसिनाले जीउ निथ्रुक्कै भएर भिजेको थियो । रुमालले पसिना पुछेँ । साथीहरु पनि थकित् मुद्रामा पसिना पुछ्दै चौतारामा बसे । कसैले चुरोट सल्काए त कसैले पानी पिए । उनीहरुले अघिदेखि नै मलाई हेरिरहेका रहेछन् जतिखेर भोकले गर्दा उकालो चढ्न गार्हो भएको थियो । उनीहरु खाजाको रुपमा सुन्तला, केरा खाइरहेका थिए तर खानको लागि हामीसँग केही पनि थिएन । हाम्रो खाजा-सामल सबै भरिया भाइहरुले बोकेका थिए । भरिया भाइहरु हामीभन्दा धेरै टाढा पुगिसकेका थिए किनभने भरिया भाइहरु स्थानीय लाठेहरु थिए र उनीहरुलाई हामीसँगै हिड्नुपर्छ भन्ने हेक्का पनि भएन होला सायद । म भोकले गर्दा निकै छटपटाहटमा थिएँ कि क्या हो कुन्नी मेरो आँखा थिरमा रहेन । कसोकसो गर्दा मेरो आँखा उनीहरुले खाइरहेको खाजामा गयो । लाज पनि लागेर आयो । मैँले केही भन्न सकिन मात्र असजिलो मान्दै फिस्स हाँसिदिएँ । चारजनामा एकजना अधवैंशे लोग्ने मान्छे र एकजना अधवैंशे आइमाई मान्छे अरु दुईजनाचाहिँ केटीहरु थिए । उनीहरुको नाताचाहिँ दिदी-भेना र सालीहरु पर्दारहेछन् । केटीहरुको भेनाले जिस्क्याउदा थाहा पाइयो । हाम्रो सामान्य बोलचालपछि दुईटी केटीमध्यकी एकजना अलि राम्रीतरुनी र फरासिली शेर्पेनी बैनीले खै के बुझेर हो कुन्नी ! न मेरो भोको अनुहारको भषा बुझेर हो ! खानलाई भनेर केही 'केरा' दिइन् । मलाई त 'ढुङ्गो खोज्दा देउता मिले'जस्तै भयो । मनमनै खुशी हुँदै 'केरा' थाप्दै धन्यबाद बहिनी केराको लागि भने । उनी अलि बाठी पनि रहिछिन् अर्की भन्दा । कारण चाहिँ उनले काठमाडौँको पानी खान भ्याएकी रहिछिन् । उनले काठमाडौँको पद्मकन्या उच्च माध्यमिक विध्यालयमा अध्ययन गरेको बताइन् कुराकानीको क्रममा । त्यसरी प्राप्त भएको 'केरा' खाएपछि त म पेट्रोल सकिएको गाडीमा पेट्रोल हाल्दा इन्जिन चलेझैँ भएँ र अगाडि बढ्ने शक्ति प्राप्त गरेँ मैँले । त्यसपछि हामी सँगसँगै गफ गर्दै अघि बढ्यौँ । राम्ररी एकार्काका बारेमा जानकारी साटासाट गर्यौँ । त्यसैक्रममा जसले मलाई 'केरा' दिएर मलाई गुण लगाएकी थिइन् उनीलाई धन्यबाद छ है बैनी मेरो ज्यान बचाइदिनुभएकोमा भनेँ । उनी हाँसिन् मात्रै । वास्तवमै सार्है ठूलो राहत पाएको थिएँ त्यो दिन ती शेर्पिनी बैनीबाट । त्यो घ्टना मेरो जीवनमा कहिल्यै नबिर्सिने घटना बनेर स्मृतिमा रहिरहेनेछ सधैको लागि । अचम्मै लाग्ने घटना थियो त्यो किनभने त्यो दिनभन्दा अघि जीवनमा कैयौँ दिन र रात भोकभोकै बसिएको थियो तर त्यो दिनको जस्तो भोकको अनुभूति कहिल्यै भएको थिएन । यस अर्थमा ती शेर्पिनी बैनीको 'उपकार' मेरो लागि पुनर्जन्मजस्तै थियो । मध्यान्हतिर हामी तमोर नदीको दाहिने किनारमा अवस्थित् एउटा मात्र पसल भएको ठाउँ 'तापेथोक' पुग्यौँ । त्यतिखेरसम्ममा अघि खाएको केराले पनि छोडिसकेको थियो । बिहानको खाना खानेबेला टरिसकेको थियो । पछि छोडिएका साथीहरु अझैँसम्म पनि आइपुगेका थिएनन् । उनीहरुलाई पनि पर्खिनुपर्ने थियो । मङ्सिरको दिन थियो । पसलको साहुनी खेतालालाई खाजा भनेर जाँड छान्दै थिइन् । उनकी बुहारी पनि सासुलाई साथ दिँदै थिइन् । पसल स्थानीय लिम्बू जातीकै रहेछ भनेर ठम्याउन गार्हो भएन किनभने बोल्ने ढाँचा ठेट् लिम्बू पाराको थियो र अनुहार प्रमाण थियो । खलामा खेतालाहरु धान झाँट्दै थिए । कोही खेताला दाइँ गर्दै थिए । तिनीहरुकै लागि खाजा बन्दै गरेको रहेछ । हाम्रा भोका आँखाहरुले खाजातिर नजर तेर्स्याए । खानाको बेला त कटी नै सकेको थियो । दोकान/पसल हो पाइन पनि सकिन्छ भनेर मनमनै आफैँसँग अन्तर्वार्ता गर्यौँ । कतै खाना मिलिहाल्छ कि भनेर सोध्यौँ-" साहुनी दिदी ! हामी त भोकै छौँ । खाना पाइन्छ कि ?" तर पर्यो फसाद ! पसल्नी दिदी ठेट् लिम्बूनी भएकीले ठेट् पारामै जवाफ दिइन् - "यतिखेर कसले तिमीहरुलाई खाना दिन्छ ? छैन ।" हामी अलिकति हच्कियौँ पनि । उसोभए ठिकै छ । हामीलाई चिया बिस्कुट दिनुहोस् न त भन्यौँ ।
शेर्पिनी दिदी-बैनी र उनीहरुको भेना अनि हामी सबैले चिया र बिस्कुट खायौँ । शेर्पा भेनाले चाहिँ खै कतिबेला रक्सी खानु भएछ , उहाँ रागे भैसक्नुभएको रहेछ । 'रागे'को मतलब हाम्रो पूर्वेली भषामा 'मात्नुभएछ' भन्ने हुन्छ । पसलनीसँग आफ्नै पारामा उनको जुहारी चल्यो एकछिन् तर उनीहरु बीच राम्रो चिनाजानी रहेछ । त्यसैले खासै अप्ठ्यारो भएन । हामी एकछिन् बसेछौँ । थकाइ पनि मरेछ । त्यति नै बेला शेर्पा भेनाले फेरि 'डोज' थप्न भ्याउनु भयो । अनि त खपिसक्नु भएन । खाली पेट्जस्तै थियो । उहाँले हामीले खाएको खाजा केटाकेटीले खाने भनेर आफ्नी श्रीमतिलाई 'डाइलग' दिनुभएजस्तो लागेको थियो । शेर्पा भेनालाई जाँड मज्जैले लागेछ । भेनाले त आफ्नी प्राणप्यारीसँग साँच्चिकै दोहोरी खेल्नथाल्नुभयो । त्यसपछि अरुलाई त्यहाँ बस्न र संवाद सुन्न अलि अप्ठ्यारो भयो । हामीले हिड्नै निको ठान्यौँ र त्यसको तयारीमा लाग्यौँ । त्यो थाहा पाएर उहाँका सालीहरु पनि हामीसँगै हिड्ने तरखरमा लागे । त्यो देखेर भेना पनि सालीहरुसँगै हिड्न तम्सिए । उता दिदी भने आफ्नै पारामा आफ्नो बुढोसँग भुत्भुताउदै थिइन् । उहाँका सालीहरुचाहिँ अलि धेरै लजाए । त्यो कुरा उनीहरुको रगत चुहिएलाझैँ गरेर रातिएको गालाले प्रष्ट्याउदथ्यो । हामी सँगसँगै बाटो लाग्यौँ तर शेर्पा भेनाले त खेल देखाउन पो थाल्नुभयो । त्यहाँबाट अगाडि बढ्नेक्रममा तमोर तर्नुपर्छ । तमोरमा झोलुङ्गे पुल छ तर्नलाई । पुल तर्नेक्रममा शेर्पा भेनाले जाँडको तुजुक देखाउँदै बाँदरलेजस्तै पुल हल्लाउन थाल्नुभयो । पुल तरेपछि पारिपट्टी केही पसलहरु भेटिन्छन् । त्यहाँ केही मान्छेहरु क्यारम्बोर्ड खेल्दै थिए । कोही सामान किन्दै थिए । त्यहाँ साना बालबालिकाहरुलाई नाच पनि सिकाइदैथियो । ती बच्चाहरुसँग शेर्पा भेना एकछिन् जिस्किनु भयो । केटाकेटी हाँसे मज्जा मानेर । मैँले हिड्नुहोस् भेना भनेर तानेँ । उहाँले कुनै आपत्ति मान्नुभएन । आउनुभयो र हामी बाटो लागिसकेका थियौँ । सालीहरुले बाउ-आमालाई भनेर रक्सी किनेर बोक्नुभएको जस्तो लाग्छ । दिकी भन्ने सालीले ग्यालनमा रक्सी बोकेकी थिइन् । उनको भेनाले त्यो रक्सी माग्नुभयो । उनले हुँदैनन् भनिन् तर भेनाले प्रतिउत्तरमा बेफिक्री भएर स्थानीय लवजमा केके भन्नुभयो जुन यहाँ लेख्न सम्भव छैन । त्यतिकैमा उहाँजस्तै शैलीको मान्छे टुप्लुकियो । अनि फसाद पर्यो मलाई । सिधा बोल्दा बाङ्गो सुन्ने रोगले दुबै ग्रस्त । कुन्नी के कुरामा संवाद भैहालेछ । अर्को मान्छेले कुरा बुझेन छ क्यारे ! साँढे जुधाइको तयारी पो भयो त्यहाँ । त्यहाँ भेटिएको मान्छेचाहिँ अलि सानो काँटको थियो तर जोश त भन्नै नपर्ने ! मातेको शेर्पा र मातेको लिम्बू बीचको स्थिति तनावमा परिणत हुनपुग्यो । मातेको लिम्बूले एक्कासी कम्मरको खुकुरी झिकेर रातो-रातो आँखा पारेर - "खोजेको हो ?" भनेर आइलाग्लाझैँ गर्यो । त्यो देखेर सालीहरु आतिए र भेनालाई तान्न थाले तर भेनाचाहिँ - "आइज" भन्दै सिङ्गौरी खेल्न थाल्यो ।सालीहरु रुन कराउन थाले । मैंले तत्काल हस्तक्षेप गर्नुबाहेक केही उपाय देखिन र त्यसै गरेँ । दुबैलाई सम्झाएँ । दुबै मान्ने पक्षमा थिएनन् । अलि कडकिनै पर्यो मैँले पनि दुबैसँग । भित्र मनमा डर पनि लाग्दै थियो तर विकल्प थिएन । प्रयास सफल भयो । मैँले शेर्पा भेनाको तर्फबाट माफी माँगे र लिम्बू मित्रले रिसाउँदै- "ल लाईजा उसोभने त्यल्लाई" भन्यो । "हुन्छ" भनेँ र शेर्पा भेनाका सालीहरुको सहयोगमा उनलाई बाटो लगाएँ । हामी अगाडि बढ्यौँ । मैँले यो कार्य यसकारण गरेँ एकातिर मानवीयता र अर्कोतिर अघिमात्रै उनकी सालीले मलाई केरा दिएर गरेको 'उपकार' झल्झली सम्झिएँ । म कृतघ्न बन्न सकिन । त्यसैले खतरा मोलेरै भए पनि दुईको बीच मध्यस्तताको काम गरेँ । त्यतिबेला दिउँसोको त्यस्तै २ बजेको हुँदो हो, हामी गफ गर्दै तमोरको किनार हुँदै उकालो लाग्यौँ । २-३ घण्टाको हिँडाइपछि हामी 'लेलेप' भन्ने ठाउँमा पुग्यौँ । हाम्रोचाहिँ त्यो दिनको लक्ष त्यहीँ मात्रै थियो कारण 'लेलेप'मा कञ्चनजङ्घा आरक्ष'को केन्द्रीय कार्यालय छ जहाँबाट हामीले अनूमति लिनुथियो । त्यस्तै ५ बजेको हुनुपर्छ हामी त्यहाँ पुग्दा । शेर्पा भेनालाई जाँडले पनि छोडेछ । अनि शेर्पा भेनालाई लाज लागेछ क्यारे ! मसँग माफी मागेर हैरान पारे । उनकी श्रीमति र सालीहरुले म नभएकोभए तँलाई लिम्बूले टुक्रा-टुक्रा पार्थ्यो भनेछन् क्यार ! पटकपटक माफी मागीरहे शेर्पा भेनाले । उनले आफूले रक्सी खानुको कारण पनि खोले मसँग । कारणचाहिँ शेर्पा दम्पत्तीले सल्ला गरेर नै 'ओलाङ्चुङ्गोला'मा लगेर बेच्ने भनेर सुन्तला किनेछन् । सुन्तला किन्दा बुढाले महँगोमा किन्यो । दलाली नगरी बेच्नेले भनेकै दाममा किन्यो भनेर कचकच गर्ने क्रम श्रीमतिबाट नरोकिएपछि बीचबाटैबाट शेर्पा भेना एकाएक हराएछन् । उनी जाँड खान कतै पसेछन् । निकै समयपछि मात्रै उनीहरुको भेट भएको रहेछ हामीले भेट्दा । शेर्पा दम्पत्ती एकापसमा बाटोमा पनि त्यति बोलेनन् तर 'लेलेप' पुगेपछिभने बोले र सल्लाह गरे । सल्लाहनुसार बाँकी रहेको सुन्तला त्यहीँ बेचे । राम्रै पैसा साटे सुन्तलाबाट । त्यहाँ सुन्तला नपाइने रहेछ । सुन्तला त त्यहाँ हारालुछ् नै भयो । हामीले सँगै खाजा-नास्ता खाएपछि उनीहरु अबेर गरेर बाटो लागे । हामीले पनि 'ओलाङ्चुङ्गोला'मा भेटौँ भन्यौँ । त्यस दिन साथीहरु पनि आइपुगेनन् । हामी दुईजना मात्रै थियौँ । मेरो साथमा एकजना इन्जीनीयर साहेब हुनुहुन्थ्यो, उहाँको नाम नारायण घिमिरे हो । हामीले 'आरक्षबाट अनुमति' लिने काम बेलामै सक्यौँ । साँझ पर्न बाँकी नै भएकोले त्यहाँ रहेका स्कूलका शिक्षकहरुसँग गफगाफ गर्यौँ । एकजना शिक्षकलाई नारायणजीले चिन्नुभएको रहेछ । त्यसैले समय काट्न समस्या भएन ।
भोलिपल्ट पनि तापेथोक बसेका साथीहरु ढिलोगरी आए कारण केही साथीहरु त्यसैदिन मात्र 'फुङलिङ्'बाट हिँड्नुभएको थियो । त्यसो हुनुको कारणचाहिँ भरिया पाइएका थिएनन् । स्थानीय पत्रकार धर्म पौडेलजीले बाँकी रहेका सामानहरु भरियालाई बोकाएर एक दिन ढिलोगरी फुङलिङ्बाट हिँड्नुभएको थियो । उहाँहरुलाई पर्खनु परेकोले आधा दिनभन्दा बेसी समय हामी सबै 'लेलेप'मै बस्यौँ । निकै ढिलोगरी उहाँहरु पनि 'लेलेप' आइपुग्नुभयो । साँझको ४-५ बजेको हुन्पर्छ, हामीसबै भेला भैसकेकाले नजीकैको स्टेसन 'लुङ्थुङ्' पुगेर बास बस्ने सुरले त्यहाँबाट हामी बाटो लाग्यौँ । 'लेलेप'मा आवश्यक लाईटर र लाईट अर्थात् टर्च लाईट किनेर उज्यालोको व्यवस्था गरेका थियौँ । त्यसैले अघिल्लो दिनको जस्तो उज्यालोको समस्या भएन । पत्रकार धर्म पौडेलचाहिँ केही काम छ भन्दै 'लेलेप'मा रहनुभयो । उहाँ ताप्लेजुङ्कै मान्छे हुनुभएकोले उहाँलाई उहाँले भनेझैँ छोडेर हामी आघि बढ्यौँ । केही साथीहरुचाहिँ 'लुङ्थुङ्' पुगेर खान र बस्नको बन्दोबस्त मिलाउदै गर्छौँ भनेर अघि लाग्नुभयो । हामी कोही पनि त्यो बाटोसँग परिचित अनि अभ्यस्त थिएनौँ । त्यसमाथि निष्पट अँध्यारो भैसकेको थियो । सोध्दै जाँदा जानुपर्ने बाटो नभएर बाटो त बाटो तर चोरबाटो परेछ । त्यो बाटोमा पहिरो पनि झरेको रहेछ । साथीहरु पनि त्यै बाटो गएछन् भन्ने कुराको सुइको उनीहरुको ताजा पाइतालाका छापहरुले दिइरहेका थिए । त्यसैले पनि हामी बाटो त सही नै पछ्याइदै रहेछ भन्ने भानमा पर्यौँ र निरन्तर अघि बढ्दै गयौँ । साथीहरु कसोकसो गरेर बाटोको अप्ठ्यारो पहिरो पार गरेर गएछन् कुन्नी ! बाटो सार्है डरलाग्दो थियो । गोरेटोमा एउटा पाइताला मुस्किलले टेक्न सकिन्थ्यो । भरियाहरुको डोकोमा सर्वेक्षणका सामान र मेसिनहरु थिए । ती लामा भएकाले डोको बाहिरसम्म आएका थिए । त्यसमाथि पहरो भएपछि त काम पुगिहाल्यो नि । हामीले सार्है कठिनावस्थाको सामना गर्नुपरेको थियो । सामना गर्नुबाहेक फेरि कुनै विकल्पै थिएन हामीसँग । हामी होसियारीका साथ अगाडि बढ्ने सल्लाह गरी बढ्यौँ । भरिया भाइहरुलाई अघि लगायौँ । हामी भारी समाउदै हेर्दै पछिपछि लाग्यौँ । हेर्दाहेर्दै कसोकसो गर्दा एकजना अधवैँशे भरियाको भारीमा भएको 'थेरोलाईट'को स्टैण्डले पहरो चुम्न गयो र भरियाको खुट्टोले ठाउँ छोड्यो तर सँगै हिँड्ने साथीहरुले उनको हात समाउन पाए । त्यसरी हात समाउन नपाएको भए त्यो दिन-साँझ एकजनाको ज्यान तमोरमा मिल्न पुग्थ्यो । सम्भावित ठूलो दुर्घटनाबाट हामी बच्न सफल भयौँ तर जुन भरियाको खुट्टो खुस्केर तलतिर झरेको थियो, उसको होस नै गुम भयो पहिरोको बाटो काटेपछि । ऊ लगातार काँपी रह्यो । उसको मुखबाट शब्द निस्किएनन् । उसको आङ्भरी पसिना आयो । सम्झायौँ उसलाई । नडराऊ त भन्यौँ तर हामी आफैँ डराइरहेका थियौँ । उसका नौनारी खत्रकै भएका थिए । कारण के रहेछभने पहिले यसरी नै भारी बोकेर 'ओलाङ्चुङ्' आउँदा उसको भाइको पनि ज्यान गएको रहेछ । भाइको लाश पनि भेटिएन भन्थ्यो ऊ । उसलाई एकछिन् आराम गर्न दिएर हौसला दिएर उसलाई अघि लगाउदै बिस्तारै 'लुङ्थुङ्'तिर बढ्यौँ । रात निकै परिसकेको थियो । धन्न केही साथीहरु अघि जानुभएकोले खान र बस्नको लागि चिन्ता थिएन । हामी करिब एक घण्टा हिँडेपछि बास बस्ने थलो 'लुङ्थुङ्' पुग्यौँ । साथीहरुले बासको बन्दोबस्त गरेर खानाको सुरसार गर्दै हुनुहुन्थ्यो । भोकले र थकाइले त्यसमाथि बाटोको सातो लाने घटनाले हामी लखतरान परेका थियौँ । साथीहरुलाई घटनाको बारे सुनायौँ । साथीहरुले जिब्रो काढे । फेरि समस्या अर्को छँदैथियो । पछि रहनुभएका पत्रकार धर्मजी आइपुग्नुभएको थिएन र उहाँ एक्लो हुनुहुन्थ्यो । सबैको चिन्ताको विषय बन्नु भयो उहाँ । निकैबेरपछि जङ्गलमा पिल्पिले लाईट बाल्दै कोही माछे आएजस्तो देखियो । सबैले नियालेर हेरे र कसैले 'धर्मजी !' भनेर आवाज पनि दिए तर उत्तर आएन । बत्तिको प्रकाश नजिकिदै जादा उहाँ नै हो भन्ने लख काट्न सहज भयो, नभन्दै उहाँ नै हुनुहुँदो रहेछ तर साथमा स्थानीय युवक पनि साथी लिएर आउनुभएको रहेछ । उहाँ जिल्लाबासी पत्रकार अनि कान्तिपुर दैनिक'को ताप्लेजुङ सम्वाददाता भएकोले मान्छेले चिनेका रहेछन् । त्यसैले उहाँलाई साथी पाउन सजिलो भएछ । उहाँहरु आइपुगेपछि खाजा खाइयो । कुक भाई र भरिया केटाहरु खाना र तरकारी पकाउदै थिए । हामी पनि गफतिर लाग्यौँ । खाना पाकेपछि खाना खाएर कोही घरभित्र त कोही आँगनमा टेन्ट टाँगेर सुत्यौँ । यसरी तेस्रो दिनको यात्रा पनि सकियो ।
भोलिपल्ट सबेरै भारी कसेर भरिया अघि लगाइ लक्ष्यको दूरी कम गर्न हामी बाटो लाग्यौँ । ताप्लेजुङ्को विशेषता भनेको संसारमै सबैभन्दा धेरै अलैँची उत्पादन हुनु हो । समुद्र सतहको करिब २५०० मिटरको उचाईसम्मै अलैँचीको खेती गरिदोरहेछ । 'लुङ्थुङ्'सम्मै अलैँचीको खेती गरेको देख्न पाइन्छ । 'लेलेप'सम्म लिम्बू र अन्य जातीको बसोवास रहेको भेटिन्छ भने 'लुङ्थुङ्'देखि उत्तरी भागमा प्राय: शेर्पा जातीका मानिसहरुको मात्रै बसोवास रहेको पाइन्छ । 'लुङ्थुङ्'बाट उकालो लागेपछि 'तमोर नदी'ले दिशा फेर्दोरहेछ । बीच बाटोमा सुन्दर अनि मनमोहक छङ्छङे झर्नाहरु भेटिन्छन् । एकातिर अलैँचीको बगैँचा अर्कातिर छङ्छङे झर्ना अनि झ्याउँकिरीको संगीतले वातावरणलाई सार्है मनमोहक र आह्लादकारी बनाइदिएको थियो । ठाउँठाउँमा स्थानीय ढुवानीको साधन बनेको चौँरी र तिनको गलामा झुण्ड्याइएको घण्टीबाट निस्केको 'घण्टङ् घण्टङ्'को आवाजले स्वर्गीय आनन्द दिएको थियो यात्रामा हामीलाई । 'लुङ्थुङ्'बाट त्यस्तै ४-५ घण्टा हिँडेपछि तमोरले 'दिशा' फेरेको ठाउँ भेटिन्छ जहाँबाट तमोरले बायाँतर्फ मोड लिँदो रहेछ । त्यसैले 'ओलाङ्चुङ्गोला' जान पुल तर्नुपर्दो रहेछ । तर्नको लागि झोलुङ्गे पुलको व्यवस्था रहेछ । तमोर नदी ठाडा नदीहरुमा पर्दछ । ठाडा नदीहरु स्वभावैले वेगवान हुने गर्छन् । पुल भए ठाउँमा त तमोर नदी झनै वेगवान बनेको छ । तमोर नदी यति ठाडो र वेगवान छ- पुलमुनिको तमोर नदीको भाग स्वयम् नै झर्नामा परिणत भएको छ । त्यो ठाउँमा तमोरको पानी पुरै बादल उडेजस्तै गरी सेतै भएर बगेको छ । त्यो हेरेर हामी धेरै बेर रमायौँ अघि बढ्न बिर्सिएर अनि छाती गर्वले ढक्क फुल्यो । हाम्रो नेपाल साँच्चैको स्वर्गै हो जस्तो लाग्यो । वारिपारि मनोरम पहाडी शृङ्खला बीचमा ठाडो र गहिरो भएर बगेको तमोर नदीको अनुपम दृश्य । केही बेरको बसाइपछि हामी पुल सकिनासाथ आउने ठाडो उकालो चढ्न कस्सियौँ । उकालो पनि यति ठाडो कि मानौँ त्यो तारेभीर नै हो । त्यो ठाउँबाट तमोर नदीले दिशा फेरे जसरी नै 'ओलाङ्चुङ्गोला' यात्राको पनि दिशा फेरिदो रहेछ । कहिले तमोर छोड्दै त कहिले भेट्दै अनि तमोर नदीसँग लुकामारी गर्दै सिधै 'कञ्चन्जङ्घा'तिर बढ्नुपर्दो रहेछ 'ओलाङ्चुङ्गोला' पुग्न । त्यसरी नै यात्रामा आफूलाई हामीले अगाडि बढायौँ किनभने तमोर नदी 'कञ्चन्जङ्घा' शृङ्खलाबाटै उत्पत्ति भएको नदी हो । आर्य मूलका माछेहरुको नाकजस्तो ठाडो नाके उकालो काटेपछि बाटोमै पर्ने एउटा सामान्य घरमा पुग्यौँ । त्यो बेलासम्ममा बिहानको खाना खाने बेला भैसकेको थियो । त्यो घर शेर्पाको रहेछ । बाटोको घर भएकोले निकै चलाख शेर्पा परिवार रहेछ । उकालो चढ्दा पसिनै पसिना भएका थियौँ हामी । एकछिन् अर्थात् पसिना ओभाइन्ञ्जेल आराम गर्यौँ । भोकले र थकाइले लखतरान परेकाले साथीहरु खाना खानुभन्दा पहिले खाजा खाऔँ भन्न थाले । त्यसैले घरवालासँग खाजा सोध्यौँ । खाजाको प्रबन्ध रहेछ । खाजाको रुपमा चियामा सातु घोलेर खाने काम गरियो । खाजा खाएपछि कुक भाइ र भरिया केटाहरु खानाको तयारीमा जुटे । हामीचाहिँ गफतिर लाग्यौँ । खाना पाकेपछि खाना खाइयो । भाँडाकुँडा सफा गर्दा २-३ घण्टा समय खर्च भएछ । घरवालालाई हरहिसाब बुझाएर हामी पुन: यात्राको निरन्तरतामा लाग्यौँ । तमोरको किनारैकिनार माथि झन् माथि चढ्दै गयौँ । जतिजति उकालो चढ्दै गयौँ चिसोको मात्रामा पनि वृध्दि हुँदै गयो । त्यति नै बेला फाट्टफुट्ट पानी पनि छिट्यायो । हामीलाई अब जाडोले मार्ने भयो भन्ने डर भयो किनभने बासको टुङ्गो थिएन । कहाँ पुगिने हो र कस्तो हुने हो बास बसाइ भनेर चिन्ताले सबैलाई गाँजेको थियो । तैपनि हिँड्नुबाहेक हामीसँग कुनै विकल्प्प थिएन । सकिनसकी हामी हिँडी नै रह्यौँ । कतिबेला त हामी आफू आफूमै बोल्न बिर्सिन्थ्यौँ खुट्टा दुखाइको पीडाले ।
'ओलाङ्चुङ्गोला'मा हिउँ पर्छ, हिउँले खान्छ भनेर हामीले त्यसबाट बच्न भनेर बिहानको खाना खाको ठाउँबाट मकै र भटमास भुट्न लगाएर बोकेका थियौँ । उकालोमा त्यै मकै भटमास खाजाको रुपमा खाँदै बाटो काट्ने मेलो गर्यौँ । उकालोमा पानी पिउन नपाएर प्याक्प्याक्ती भयौँ तर हामीसँग भएको पानी सकिएकोले सहन वाध्य भयौँ । बाटोमा भेटिएका मान्छेहरुलाई सोध्दा अलि पर गएपछि पानी भेटिन्छ भन्थे । त्यै पानी भेट्ने आशैआशामा हामी घस्रदै अघि बढी नै रह्यौँ । निकै उकालो पार घरेपछि एउटा सानो खोला भेटियो । हामीलाई त के के न भेट्टाको झैँ भयो । खुशीले फुरुङ्ग बन्दै पानी मस्तसँग पियौँ । खोलाको पानी पिउँदा अलिकति पनि डर लागेन जब कि काठमाडौँमा धाराको पानी पिउँदा डर लाग्थ्यो र पिउँदा तुरुन्तै केही न केही भै नै हाल्थ्यो तर त्यो पानी पिउँदा केही पनि भएन । त्यो बेलासम्ममा हामी थाकिसकेका थियौँ । अघि बढ्ने मन त थिएन तर बाटामा भेटिएका मान्छेहरुलाई सोध्दा बीच बाटोमा कतै पनि बास बस्नको लागि घर अर्थात् गाउँ भेटिदैन । 'ओलाङ्चुङ्गोला' छेउ तमोर र याङमा नदीको दोभानमा गोठ भेटिन्छ । बास बस्नको लागि त्यहाँ नपुगीकन उपाय छैन भनियो । हामीसँग अर्को विकल्प पनि थिएन । सकिनसकी हिँड्नुबाहेक हामी के नै गर्न सक्थ्यौँ र ! सकिनसकी हिँड्ने कोसिस गर्दै बढ्यौँ । हुन त त्यस्तै अप्ठ्यारो पर्ला भनेर काठमाडौँबाटै टेन्ट र स्लीपीङ ब्यागको व्यवस्था गरेर लगेका थियौँ । खानको लागि प्रसस्तै खाना सामल पनि बोकेका थियौँ । डर त थिएन तर पनि घरमा बास बसेजस्तो कहाँ हुन्छ र भन्दै हिँडी रह्यौँ । जसोतसो गरेर हामी साँझ अबेर तमोर र याङमाको किनारमा पुग्यौँ । संयोगवश त्यसै दिन मात्र गोठका मान्छेहरु याङमाबाट गोठ झरेका रहेछन् । उनीहरुले तरकारीलाई भनेर आलु लिएर आएका रहेछन् । हामीले त्यही आलु किन्न पायौँ र तरकारीको काम चलायौँ । नत्रभने त हामीले पाउन सम्म दु:ख पाउने रहेछौँ । हामीले सोचेभन्दा पनि जाडो रहेछ । खाली गोठ शिवाय: केही पनि नपाइने रहेछ ती मान्छेहरु गोठ नझरेको भए त ! कुक भाइ र भरिया केटाहरुले पहिले चिया पकाए । त्यसपछि खाना पकाए तर खाना पकाउने बेलामा दाउरा नबलेर यस्तरी धुवाँ निस्कियो कि मानौँ पुरै बादलुले गाउँ ढाकेको छ । त्यस्तो मुस्लो धुवाँको निस्क्यो तर पनि केटाहरुले सफलता पाइछाडे । खाना पकाएर खुवाए । खाना खाइवरी हामी हतार-हतार गरी टेन्ट टाँगेर सुत्ने कोसिसमा लाग्यौँ किनभने बाहिर जाडोले बसिसक्नु थिएन । हाम्रा भरियाहरुले छ्याङ पनि खान पाए र सुत्नलाई ठाउँ पनि पाए । हामीचाहिँ बाहिर बारीमा टेन्ट टाँगेर सुत्यौँ । राती यती चिसो भयो कि यहाँ वर्णन गरेर साध्यै छैन । राती पानी पनि परेछ क्यार । तुसारो पनि हिउँजस्तै गरेर सेताम्मै परेछ । पिसाब फेर्न उठ्दा कति मुस्किल परिस्थितिको सामना गर्नुपरेको थियो । त्यो सम्झिँदा आङै सिरिङ्ग भएर आउँछ । फेरि बारीमा ढुङ्गा शिवाय: केही रहेनछ । टेन्ट त टाँगियो तर ढुङ्गाले रातभरी ढाडमा ठेला उठ्नेगरी दु:ख पायो । कहिले बिहान हुन्छ अनि त्यहाँबाट हिँड्नु जस्तो भएको थियो ।
राती चिसो भएकोले सबै साथीहरु छिट्टै उठे । कुक भाइ पनि उठ्यो । सबै लाठेहरु मिलेर हामी उठ्नुभन्दा पहिले आगो बालेर ताप्दै रहेछन् । त्यही क्रममा उनीहरुले चिया र मुख धुनलाई भनेर तातो पानीको व्यवस्था गरेछन् भाइहरुले । भाइहरुले चियामा मरिच हालेछन् । काइदा भयो पिउन जाडोमा । थपी थपी पिउने काम भयो । जाडो भएकोले साथीहरुले बालेको आगो छोड्न धेरै गार्हो माने मानौँ कुनै प्रिय वस्तु छोड्नु परिरहेको थियो । "जाऔँ साथीहरु हो !" धेरै पटक भनेपछि उहाँहरु हिँड्न मन्जूर हुनुभयो । धेरै अबेर गरी त्यहाँबाट तमोरको पुल तरेर गुराँसघारी हुँदै 'ओलाङ्चुङ्गोला'तिर लाग्यौँ । तमोर छोडेको एकैछिनमा काठेपुलबाट फेरि तमोर तर्यौँ । यो तमोरचाहिँ याङमा नमिसिदैको तमोर थियो अर्थात् शुध्द तमोर थियो । यसको अर्थ त्यहाँबाट माथि कुनै पनि ठूला खोला र नदी तमोरमा मिसिएका छैनन् । यसको सङ्केत हो हामी लक्ष्यको धेरै नजीक पुगिसकेका थियौँ । त्यस ठाउँबाट 'ओलाङ्चुङ्गोला' र याङमा जाने बाटो छुट्टिदो रहेछ । बाटोमा हामीले सोही अर्थबोध गराउने बाटो सूचक काठको बोर्ड राखेको देख्यौँ र हामीले आफ्नो यात्राको दिशा सजिलै पत्ता लगाउन सक्यौँ । एकैछिनको हिँडाइपछि हामी पहिरो झरेको र अप्ठ्यारो ठाडो उकालोमा पुग्यौँ । त्यो ठाउँलाई देउराली भनिदो रहेछ । त्यो उकालो काटेपछि 'ओलाङ्चुङ्गोल' पुग्न त्यति टाढा रहेनछ । त्यहाँबाट तेर्सैतेर्सो बाटो रहेछ । देउरालीको ठीक तल तमोर नदी किनारमा हाम्रो आयोजनाको 'पावर हाउस' बनाउने प्रस्तावित स्थल रहेको छ । देउराली छोडेर अलि पर पुगेपछि 'ओलाङ्चुङ्गोला' अलिअलि देखिँदो रहेछ । पुग्ने बेलामा चाहिँ फेरि देउरालीको उकालोको याद दिने उकालो चढ्नुपर्दो रहेछ । हामी जब मुस्किलले देउरालीको उकालो सक्यौँ र देउराली पुग्यौँ तब हामीलाई एकप्रकारको आनन्दानुभूति भयो किनभने हामीलाई लक्ष्यमै पुगेजस्तै भएको थियो । देउरालीमा उकालो चढी सक्नेले उकालो सकिएको खुशीयालीमा र ओरालो झर्नेले ओरालोमा केही नहोस् भनेर फूल, पाती चढाएको देख्यौँ । हामीले पनि त्यही धर्म निभाउदै उकालो चढी सिध्दियो भनेर पाती चढायौँ । एकछिन् उभिएर देउरालीको चिसो हावा खायौँ, रमायौँ । उकालो चढ्दाको पसिना पनि सुक्यो । हामी बिस्तारै 'ओलाङ्चुङ्गोला'तर्फ लाग्यौँ । त्यतिखेर त्यस्तै दिनको ११ बजेको हुनुपर्छ । हामीलाई हतार थिएन किनभने 'ओलाङ्चुङ्गोला' त्यहाँबाट ३/४ किलोमिटर मात्रैको दूरीमा रहेको छ । त्यस दिनको बिहानको खाना हामीले 'ओलाङ्चुङ्गोला'मै खाने योजना बनाएका थियौँ । बाटोमा खाजाको रुपमा चिउरा र दालमोठ खाएकोले त्यति भोक लागेको थिएन हामीलाई । हामीलाई 'ओलाङ्चुङ्गोला' कस्तो होला र त्यहाँका मान्छे कस्ता होलान् भन्ने जिज्ञासा लागेको थियो । त्यही जिज्ञासा बोकेर हामी यात्रामा तल्लीन थियौँ । यात्रामा कोही अघि त कोही पछि थियौँ । अघि जाने साथीहरु हामीभन्दा धेरै टाढा 'ओलाङ्चुङ्गोला'को नजीक पुगिसकेका थिए । केही समयको हिँडाइपछि हामी पनि 'ओलाङ्चुङ्गोला'को नजीकै पुग्यौँ । त्यहाँ पुग्दा स्वर्गीय सुखानुभूति भयो हामीलाई किनभने 'सिवाँ बजार' छोडेपछि हामीले यात्राभरी कहीँ पनि बाक्लो मानव बस्ती देख्न पाएका थिएनौँ । बाटोमा यदाकदा देखिने याक र चौँरीबाहेक कुनै चौपाया पनि देखेका थिएनौँ । 'ओलाङ्चुङ्गोला'पुग्ने बेलामा परैबाट झुरुप्प भएर रहेका घरहरु देखिन थाले । बस्ती नजीकै थुप्रै याक, चौँरी, भेडा र बाख्राहरु चरिरहेको देखिन्थ्यो । अनि त हामीमा अरु बढी उत्सुकता जागेर आयो । कहिले 'ओलाङ्चुङ्गोला' पुगौँ जस्तो पो भयो एकाएक हामीलाई । हामी वास्तवमा शेर्पा बस्ती र शेर्पाहरुलाई हेर्न चाहन्थ्यौँ । माथिबाट तमोर नदी सानो खोलाजस्तो मात्रै देखिँदो रहेछ । 'ओलाङ्चुङ्गोला' बजारचाहिँ तमोर नदीको देब्रे किनारमा अवस्थित् रहेछ । अचम्मै पर्यौँ हामी किनभने बस्ती नपुग्दै वरै तमोर नदीको किनारमा भिरालो बारी छ, त्यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को हावामा फरफराइरहेको एक्लो रातो झण्डा टाढैबाट देखियो । छेउमा घण्टी बजाउदै याक, चौँरीहरु चरिरहेका थिए । सँगै भेडा बाख्राहरु पनि चरिरहेका देखिन्थे । त्यो रमणीय दृष्यपान गर्दागर्दै कतिखेर हामी 'ओलाङ्चुङ्गोला' पुग्यौँ पत्तै भएन । जब हामीले उकालो छिचोल्यौँ तब सामुन्ने स्वागत बोर्ड देख्यौँ अनि पो हामी लक्ष्यमा पुगिसकेछौँ भन्ने लाग्यो । लामो सास् फेर्यौँ र भारी बिसायौँ चौतारीमा । त्यो बोर्ड 'कञ्चनजङ्घा आरक्ष'ले राखेको रहेछ । त्यस बोर्डमा आरक्षमा के के पाइन्छन्, के के गर्नु हुन्छ, के के गर्नु हुँदैन, ओलाङ्चुङ्गोला कति उचाईमा रहेको छ जस्ता जानकारीमूलक सूचनाहरु राखिएका रहेछन् । 'ओलाङ्चुङ्गोला' समुद्र सतहदेखि ३२०० मिटरको उचाईमा अवस्थित् छ । यो उच्च हिमाली क्षेत्रमा पर्दछ । 'ओलाङ्चुङ्गोला' विश्व प्रशिध्द 'कञ्चनजङ्घा आरक्ष'भित्र पर्दछ । संयोग पनि गजबकै थियो । जुन दिन हामी 'ओलाङ्चुङ्गोला' पुग्यौँ त्यही दिनदेखि वर्षमा एकदिन मनाइने 'फुटुक पर्व' शुरु हुने दिन परेको रहेछ । यो पर्व शेर्पाहरुको लागि हिन्दूहरुको 'दशैँ' जस्तै पो रहेछ । दशैँमा हिन्दूहरुले 'दुर्गा भवानी'को पूजा गरेजस्तै 'प्रकृति पूजक' शेर्पाहरुले विभिन्न चराचुरुङ्गी र जनावरहरुको पूजा गर्दा रहेछन् । त्यसैले पो बाटोमा भेटिएका शेर्पा दिदी-भेना र सालीहरु हतार-हतार गरेर हामीलाई "आउदै गर्नु है !" भनेर दौडिएका रहेछन् । हामीले उनीहरुलाई छुट्टिदा 'ओलाङ्चुङ्गोला'मा "बास दिनुपर्छ है !" भनेका थियौँ । "हुन्छ नि !" भन्ने जवाफ पाएका थियौँ । भेनाकी साली 'दिकी' "जसलाई हामीले तपाईंको घरमा बासको प्रबन्ध गरिदिनुस् है !" भनेका थियौँ । त्यसैले हामी त्यहाँ पुग्दा 'दिकी बैनी' वर्षकै ठूलो पर्व 'फुटुक' शुरु भए पनि हाम्रो बाटो हेरिरहेकी रहेछिन् । ती शेर्पेनी बैनीले हामीलाई देखेर कौँसीबाट माथि आउन भनिन् । यसबाट के स्पष्ट हुन्छ भने शेर्पा जाती वचनका पक्का हुँदा रहेछन् । 'दिकी बैनी'ले हाम्रा भारीहरु राख्ने व्यवस्था गरिन् । उनले हाम्रो लागि खानाको पनि प्रबन्ध गरिसकेकी रहेछिन् । कहाँ त्यति मात्र हुनु हाम्रो बसोवासको पनि प्रबन्ध गरेकी रहेछिन् । उनले हामीसँग हार्दिकतापूर्वक भनिन्-"सर, पहिले खाना खाएर फुटुक हेरौँ । मैँले तपाईंहरुको बसोवास र खानाको सबै व्यवस्था गरिसकेकी छु । ढुक्क हुनुहोस् ! फुटुक सकेपछि म आफैँ तपाईंहरुलाई सहयोग गर्नेछु ।" हामीले ती बहिनीलाई बाटोमै भनेका थियौँ-" बैनी, हामी तपाईंको घरमा बास बस्न चाहन्छौँ । तपाईंले हाम्रो खानपानको पनि व्यवस्था गरिदिनुपर्छ है !" भनेका थियौँ । किनभने हामीलाई त्यहाँको बारेमा केही पनि थाहा थिएन कारण हामी पहिलोपटक त्यहाँ पुग्दै थियौँ । हामी एकदमै नौला थियौँ 'ओलाङ्चुङ्गोला'को लागि । हामीलाई 'ओलाङ्चुङ्गोला'बारे सामान्य जानकारी मात्रै थाहा थियो । त्यसैले त्यहाँ खाना र बासको केकस्तो प्रबन्ध हुनसक्छ भन्ने बारेमा हामी अन्जान थियौँ । सुरक्षाबारे पनि हामीलाई थाहा थिएन मानौँ हामी नवबालकझैँ थियौँ 'ओलाङ्चुङ्गोला'को लागि । यस अर्थमा हामीले ती शेर्पा दिदी-बैनी र भेना भेट्नु देउता भेटेसरि भएको थियो हाम्रा लागि जस्तै भन्ने गरिन्छ नि "ढुङ्गो खोज्दा देउता भेटियो" भनेर । त्यसैले माथि भनिएका सारा प्रबन्धको लागि 'दिकी बैनी'लाई गुहारेका थियौँ । त्यसको एउटै कारण उनी शेर्पेनी भैकन पनि हँसिली, फरासिली र व्यवहारिक रहेछिन् । उनले काठमाडौँमा पनि विध्यार्थी कालमा केही समय गुजारेकी रहेछिन् । यसबाट के बुझ्न सकिन्छ भने वातावरण नै त्यस्तो चीज हो जसले मानिसको आनीबानीमा प्रत्यक्ष असर पार्न र फरकपन ल्याउन सक्छ । त्यसैले हामीलाई विश्वास भयो कि उनले हाम्रो मनको कुरा बुझ्नेछिन् कम्सेकम हामीलाई त्यहाँ बस्दा-रहँदा भरसक समस्या आउन नदिन कोसिस गर्नेछिन् । उनी याङमामा रहेको प्राथमिक विध्यालयमा 'पार्ट टायम शिक्षिका'को रुपमा पनि कार्यरत थिइन् । नभन्दै त्यसतै भयो । हामी ढुक्क भयौँ । हामी पुग्नुभन्दा पहिले हामी आउदै गरेको हल्लाखल्ला भैसकेको रहेछ । मानिसहरुमा एकप्रकारको कौतुहल पनि रहेछ । हामी पुग्दा मानिसहरु ध्यानपूर्वक हाम्रो आगमनलाई नियाली रहेका थिए । कोहीलाई आफ्नै घरमा त कोहीलाई दिदीको घरमा अनि भरियाहरुलाई मामाको घरमा बस्ने बासको प्रबन्ध मिलाएकी रहेछिन् । हामीलाई खाना ख्वाइवरी उनी 'फुटुक' मान्न बजारदेखि माथि डाँडामा रहेको 'दिकी छ्योलिङ्ग गुम्बा'मा जान भ्याइन् उनले । त्यहाँ मानिसहरुको भीड जमिसकेको थियो । त्यो दृश्य तलबाटै देख्न सकिन्थ्यो । उनले काम हतार-हतार गरिन् । सामान्य प्रबन्ध मात्रै गरिन् त्यस बखत उनले किनभने उनलाई 'फुटुक'मा रमाइलो गर्नु थियो । त्यै 'फुटुक'को समयमै कतिको नयाँ जीवनको तारतुम्बी पनि हुँदोरहेछ । तरुनी-तन्देरीको जमघट हुने हुनाले 'फुटुक' नव युवती र नव युवाको लागि अझ विशेष महत्वको हुँदो रहेछ । उनी पनि त्यस्तै २०-२२ कै हुँदी हुन् ।
खाना खाएर आफ्ना झोला, सामान उनकै घरमा राखेर हामी पनि विस्तारै उकालो चढ्यौँ फुटुक हेर्न । हामीमा हर्ष र जिज्ञासा त्यतिकै थियो कि कसरी 'फुटुक' मनाइन्छ भनेर । संयोग त्यहाँ 'फुटुक' हेर्न एक जोडी गोराहरु पनि आएका रहेछन् । उनीहरु नेपालका लागि शैक्षिक स्वयम् सेवक रहेछन् । उनीहरु ताप्लेजुङमै कार्यरत रहेछन् । स्कूलका सहकर्मी शिक्षकले उनीहरुलाई त्यहाँ ल्याएका रहेछन् । हामीले काठ्माडौँबाटै 'कञ्चनजङ्घा क्षेत्रको' रमणीयतालाई कैद गर्ने उद्देश्यले मूभी क्यामरा र क्यामरामेनसँगै लगेर गएका थियौँ । मैँले क्यामरामेनलाई 'फुटुक'को कुनै पनि दृश्य नछुट्टाउनु होला भनेर निर्देशन दिएँ । क्यामरामेनको रुपमा लामो अनुभव सँगाल्ल्नु हुने विमल भट्टराईजी हुनुहुन्थ्यो । विमलजीले मैँले भनेजस्तै गरी दृश्य कैद गर्न थाल्नु भयो ।
गजबको कुरो त के रहेछ भने 'ओलाङ्चुङ्गोला' नेपालीकोभन्दा तिब्बतीयनहरुको विशेष गरी 'ल्हासा'का चिनीयाहरुको एक प्रमुख व्यापारिक केन्द्र रहेछ । यस्तै आभास हुन्थ्यो त्यहाँ देखिएको उनीहरुको उपस्थिति र रवाफले । त्यसै गरी तिब्बतीयनहरुको कुटुम्बेरी गर्ने थलो पनि बनेको रहेछ 'ओलाङ्चुङ्गोला' । त्यहाँका केटीहरु अर्थात् नेपाली शेर्पेनी चेलीहरु हिमालपारिको देश विशाल चीनको तिब्बत स्वशासित क्षेत्रमा पर्ने प्रशिध्द व्यापारिक सहर जो महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य 'मुना मदन'को नायक मदन व्यापार गर्न गएको सहर 'ल्हासा'मा बेहूली अर्थात् बुहारी बनाएर लगिदो रहेछ । त्यसरी नै उताबाट पनि तिब्बतीयन चेलीहरु अर्थात् केटीहरु 'ओलाङ्चुङ्गोला'मा बुहारी बनाएर ल्याउने चलन रहेछ । त्यसैको प्रभावले होला 'फुटुक'मा पनि तिब्बतीयनहरु नै आकर्षणका केन्द्र बनेका देखिन्थे । त्यसो त अरु मानिसहरु पनि त्यहाँ नभएका होइनन् । एक जोडी गोराहरु पनि भूइमा बसेर बडो चाख लिएर 'फुटुक'का हरेक कृयाकलापको मन्त्रमुग्ध भएर अवलोकन गरिरहेका थिए । दिन ढल्दै गएपछि आकाश धुम्मियो । पानी पर्ला जस्तो भयो । सामान्य जाडो त छँदै थियो अरु जाडो थपियो । हामी त लगलग काँप्न पो थाल्यौँ । 'फुटुक'मा शेर्पाहरुले बसेर खान र मनोरञ्जन गर्न आ-आफ्नै पाल टाँगेर 'गुम्बा' क्षेत्रलाई बेहूली सिँगारेझैँ सिँगारेका थिए । शेर्पाहरु उन्मुक्त र प्रसन्न मुद्रामा देखिन्थे । नेपालीहरुको चाडमा प्राय: रक्सी अर्थात् मदिराजन्य पदार्थले प्राथमिकता पाएको हुन्छ । 'ओलाङ्चुङ्गोला'को 'फुटुक' पनि जाँड, रक्सी अर्थात् मदिराजन्य पदार्थबाट प्रभावित नभै रहन सकेन । मदिराको स्वभावजन्य परिणाम कुनै न कुनै र कसै न कसैसँग झगडा र हानाहान भएरै छोड्छ । साँझ नपरुञ्जेलसम्म त मस्ती मात्रै थियो, रमाइलो थियो । शेर्पा युवा-युवतीहरु आ-आफ्ना माया-प्रेमका कुराहरु साटासाट गर्दै थिए । बुढा-बुढीहरु जाँड-रक्सीमा रमाइरहेका थिए । हामी लगायत तिब्बतीयनहरु र केही गोरा-गोरेनीहरु 'फुटुक'मा लामाहरुले मन्त्र पढेको, पूजा गरेको, विभिन्न मुद्रामा र झाँकीमा नाचेको हेरेर आनन्दित् भइरहेका थियौँ । 'फुटुक' भन्ने चाड अर्थात् पर्व मैँले जीवनमा त्यहीँ देखेँ । योभन्दा पहिले कहीँ पनि देख्न पाएको थिइन । सायद शेर्पा बस्तीमा जाने काम नपरेर पनि त्यसो नभएको हुनसक्छ । बाटोमा भेटिएका शेर्पेनी बैनीहरुले - "यसपाली हाम्रोमा 'फुटुक पर्व' हुन्छ, तपाईंहरुले पनि देख्न पाउँनुहुने भो !" भनेका थिए । 'फुटुक'को बारेमा जिज्ञासा बढेको थियो । मैँले विशेष चासो दिएर 'फुटुक'का हरेक चरणहरु हेरेँ । साथीहरुले पनि बडो ध्यानपूर्वक अवलोकन गर्नु भयो । तिब्बतीयनहरुले पनि हामीले जस्तैगरी मन्त्रमुग्ध भएर 'फुटुक' हेरे । 'फुटुक' एक प्रकारले नेवारहरुको 'लाखे जात्रा'जस्तै हुँदो रहेछ । 'फुटुक पर्व'मा 'लाखे जात्रा'मा जस्तै भूत-प्रेत मन्साउने काम हुँदो रहेछ । शेर्पाहरु पनि लिम्बूहरुजस्तै 'प्रकृति पूजक' रहेछन् । भूत-प्रेत धपाउन विभिन्न प्रकारका चराचुरुङ्गी, जीवजन्तुहरुको आकृति बनाइ डरलाग्दा झाँकी प्रस्तुत् गरेर भूत-प्रेत भगाउने क्रम चल्दो रहेछ 'फुटुक'मा । 'फुटुक' एक प्रकारले सोच्दा हाम्रो माघे सक्रान्ती जस्तो पनि रहेछ । 'फुटुक'मा सेल रोटी पोलिँदो रहेछ । भएभरका प्रसाद, फलफूल र रोटी बनाएर भगवानलाई चढाउने काम हुँदो रहेछ । भूत-प्रेत भगाउने मन्त्र पढिदो रहेछ मुख्य लामाबाट र अन्य लामाहरुबाट मन्त्रले भनेअनुसारको खुँडा, खुकुरी र भाला लिएर भूत-प्रेतलाई मारेको, काटेको र लखेटेको अभिनय गर्दै रोमाञ्चक नृत्य प्रस्तुत् गरिदो रहेछ । शेर्पाहरुको विश्वासानुसार त्यसो गर्नाले वर्षभरी भूत-प्रेत भाग्ने, सुख, शान्ति, प्रगति हुने रहेछ । शेर्पाहरु 'फुटुक'मा हिन्दूहरुले दशैँ, तिहारमा राम्रा लुगाफाटा लगाएझैँ राम्रा लुगाफाटा लगाउदा रहेछन् । शेर्पाहरु 'फुटुक'मा माछा, मासु अनि मीठो-मसिनो खाने गर्दा रहेछन् । यस अर्थमा 'फुटुक' शेर्पा जातीको एक प्रमुख चाड अर्थात् पर्व रहेछ । हामीले यी सारा कृयाकलाप, दृष्य, नृत्य सबै कुराहरु स्वयम् सहभागी भएर हेर्न-देख्न पायौँ । हामी वास्तवमै भाग्यशाली रह्यौँ । हामीले त्यो अनुपम सांस्कृतिक-धार्मिक झाँकी र परम्परालाई स्टील क्यामरा र मूभी क्यामरामा कैद गर्ने सुवर्ण अवसर पायौँ र कैद गर्यौँ मन लागुञ्जेल । हाम्रो लागि त्यो क्षण अद्वितीय रह्यो । 'फुटुक' ३ दिनसम्म मनाइदो रहेछ । 'फुटुक'मा मानिसहरुले पितृहरुको र दिवंगत आफन्तहरुको नाममा सम्झना गर्दै मृतात्माले शान्ति पाओस् भनेर दान, दक्षीणा दिने चलन रहेछ । दान, दक्षीणाको रुपमा लुगाफाटाहरु, सुन, चाँदी पनि चढाइदो रहेछ । 'ओलाङ्चुङ्गोला'देखि बाहिर रहेका मानिसहरुले पनि आफ्ना मृतात्माहरुको नाममा सुन, चाँदी, लुगाफाटाहरु लगायत रुपियाँ-पैसा पठाउने चलन रहेछ । यी सबै कुराहरु गुम्बामा चढाइदो रहेछ । बेलुकीपख लामाबाट त्यो दिनको पूजा सकिएको जानकारी गराइयो । सबै मानिसहरु आ-आफ्ना सामान लिएर घर जान हतारिएको देखिन्थो कारण थियो बढ्दै गरेको जाडो । हामी पनि विस्तारै बास स्थलतिर लम्कियौँ । साँझपख आकाश धुम्मिएकोले आकाशमा बादल देखियो । सिरोटो चल्यो । तिखो जाडोको अनुभव भयो । गुम्बाबाट तल झर्दा दोस्रो स्टेपमा प्राथमिक विध्यालय रहेको छ । नाम मात्रको स्कूल रहेछ त्यो । कारण त्यति प्रयोगमा आउदो रहेनछ । विध्यार्थी र शिक्षक दुबैको अभाव रहेछ । 'फुटुक' भएकोले त्यो दिन विध्यालय व्यापार गर्ने थलो भएको थियो । त्यहाँ जाँड, रक्सी, चिया, कफी, मासुका विभिन्न परिकार अनि अन्य खानेकुराका परिकारहरु बेचिरहेका थिए स्थानीय शेर्पाहरु । जाडो भएको र अन्य काम पनि नभएकोले हामी पनि त्यहाँ मिसियौँ । होटेलवाली शेर्पेनीलाई तातो कफी माग्यौँ खुब मज्जा आयो जाडोमा कफी । तिब्बतीयनहरु त्यहाँ पनि विशेष ग्राहक देखिन्थे । हामीसँगै कुइरे जोडीले पनि कफी पिए । तिब्बतीयन पाहुनाहरुको बाक्लो उपस्थिति थियो त्यहाँ । तिब्बतीयनहरु पनि प्रसस्तै जाँड, रक्सी खाँदा रहेछन् । भाषा नमिले पनि आँखाको इशाराले हामीले मुस्कान साट्यौँ तिनीहरुसँग । अलि लजालु स्वभावका हुँदारहेछन् । त्यहाँको मुख्य परिकार याकको मासु र याककै मासुको मोमो पाकेको थियो । त्यो उनीहरुले खुब स्वाद लिएर खाइरहेका थिए । हामीलाई भने अलि पचेन मतलब मनले मानेन खान । तिब्बतीयनहरु खुब रवाफका साथ याकको मासु, त्यसबाट बनाइएको मोमोसँग छ्याङ्, बियर र तिब्बतीयन रम खाँदै थिए त कोही तातो चिया, कफी खाँदै थिए । वातावरण रमाइलो थियो जाडो भए पनि । हामीले पनि तातो कफी पियौँ । खान मिल्ने केही छ कि भनेर यसो हेर्यौँ तर खासै मनले खोजेको पाइएन । जहाँ यी सबै भैरहेका थिए त्यो ठाउँ बजारबाट माथि पर्छ । त्यो ठाउँ 'ओलाङ्चुङ्गोला बजार'को छानोजस्तै भएर रहेको छ जहाँबाट पूरै 'ओलाङ्चुङ्गोला बजार' देखिदो रहेछ । सुरक्षाका लागि खटेका नेपाल प्रहरीका हवल्दार र जवानहरुसँग त्यहीँ भेट भयो । उनीहरुलाई हामी आएको खबर दिकी बैनीले भनिसकेकी रहेछिन् । हवल्दार साहेबसँग परिचय गर्यौँ । कफी फेरि थप्यौँ र सँगै पियौँ । फोटो खिच्यौँ 'ओलाङ्चुङ्गोला बजार'को । त्यहाँबाट बडो सुन्दर देखिँदो रहेछ बजार । झमक्कै साँझ परेको भान हुन्थ्यो । जाडोको मात्रा पनि बढेकोले हामी हतार-हतार गरेर तल बजारतिर झर्यौँ । हामीसँगै हवल्दार साहेब पनि झर्नु भयो ।
हामी दिकी बैनीको घरमा गयौँ जहाँ अघि भारी, झोला, सामान राखेर उकालो चढेका थियौँ । शेर्पाहरुको चलन पनि गजबको हुँदो रहेछ । उनीहरु समुहमा अर्थात् संयुक्त परिवारमा बस्दा रहेछन् । घरको मूली चाहिँ देखिँदा पुरुष देखिए पनि हैकम् महिलाकै रहेको देखियो । सँगै बस्ने, सँगै खाने र सँगै एकै ठाउँमा सुत्ने चलन रहेछ । छोरा, छोरी, बुढा, बुढी, छोरा-बुहारी र पाहुनासमेत एकै ठाउँमा सुत्नुपर्ने रहेछ । हामीलाई अलि असजिलो भएकै हो तर ठाउँअनुसार चलिएन भने नमिल्ने भएकोले आफूलाई आफैँले सम्झायौँ र सहज गरायौँ । चौकुना मिलेको चतुरभुजाकारको ठूलो चुल्हो बनाएको हुँदो रहेछ । त्यो चुल्होको वरिपरि बसेर कुराकानी गर्ने, खाने गरिदो रहेछ । जहाँ चुल्हो थियो त्यहीँ हामी पनि अँट्नुपर्ने भयो । खाना पनि त्यहीँ र रात पनि त्यहीँ गुजार्नुपर्ने भयो । पारिवारिक छलफलदेखि योजना बुन्ने काम पनि त्यही चुल्होको वरिपरि नै पो हुँदो रहेछ । जाडो भएकोले आगो ताप्दै त्यसो गरिदो रहेछ । जाडो भएकोले हामी पनि चुल्हो भएतिरै घुस्यौँ । शेर्पिनी आमैले ठूलो चियादानीबाट भोटे चिया सारिन् र खान दिइन् । मज्जाले खायौँ किनभने अचाक्ली जाडो थियो तर जाडोमा दाउरा राम्ररी नसुकेकोले गर्दा धुवाँको मुस्लो आउँथ्यो । मेरा आँखा रसाए । धुवाँ कति पिरो थियो त्यो यहाँ वर्णन नगरौँ किनभने हामी नेपालीलाई थाहा भएकै कुरो हो । धुवाँले गर्दा मेरो आँखा पोल्यो र आँशु झर्यो । शेर्पेनी बैनीहरुले किन रुनु भएको भनेर जिस्क्याउन पनि भ्याए । तरै पनि चुल्हो चाहिँ छोड्ने हिम्मत आएन । त्यति जाडो हुँदो रहेछ त्यहाँ । घरमा म त्यति चिया नखाने र चियाको पारखीको रुपमा नचिनिएको म त्यहाँ भने धेरै चिया खानेमा परेँ । त्यहाँको शेर्पा चिया खाँदा शुरुमा त कस्तो कस्तो लागेको थियो । पछिपछि त त्यो चियाको अम्मली नै पो भएँ म । शेर्पा चियामा नून र घ्यू मिसाइदो रहेछ ।
'ओलाङ्चुङ्गोला'मा विजुलीको व्यवस्था भए पनि बिग्रिएर थन्किएको अवस्थामा रहेछ । बजार अघोषितरुपमा सधैँको लागि 'लोडसेडिङ्ग'मा रहेछ । काठमाडौँ लगायत देशका सुगम ठाउँहरुमा सानका साथ घोषणा गरेर 'लोड्सेडिङ्ग्' मनाइन्छ नेपालमा । हामीले त्यो सूचना पाएर काठमाडौँबाटै काममा बाधा नपरोस् भनेर 'सोलार प्यानेल'को प्रबन्ध गरेर लगेका थियौँ । हाम्रा प्राविधिकहाँरुले पुग्ने बित्तिकै 'सोलार प्यानेल' जडान गरेका थिए कारण हामी पुग्दा घाम लागिरहेको थियो । घामको तापमै ब्याट्री चार्ज गर्नु परेकोले त्यसो गरियो । फेरि साँझमा पनि उज्यालो त चाहिन्थ्यो नै । त्यसैले बिहान जहाँ हामीले खाना खयौँ त्यहीँ नै 'सोलार प्यानल' जडान गरिएको थियो । त्यो घर त्यो दिन झिलिमिली भयो । त्यो घरमा 'दीपावली' गरिएको जस्तै थियो । घरका मान्छेहरु उज्यालो देखेर दङ्ग थिए । मानौँ त्यो घरमा साँच्चिकै 'फुटुक' रमाएर आएको थियो । 'फुटुक' भएकाले घरका केटीहरु चाँडो चाँडो गरेर खाना पकाइरहेका थिए । आफ्नै तालमा केके भनिरहेका थिए । बेलाबेला मस्तसँग हाँस्थे पनि । उनीहरुको योजना हामीलाई खाना ख्वाएर गाउँमा नाचगान गर्न जानु रहेछ । उनीहरु हतारिदै काम गर्दै थिए । कहिलेकाहीँ हामीसँग पनि कुरा गर्न भ्याउथे तर ध्यान दिदैनथे । त्यसैले खाना अपेक्षित समयभन्दा पहिले नै तयार भयो । पाकेपछि खानै पर्यो, खाइयो । हतार-हतार गरेर धन्दा गरे केटीहरुले भाँडाहरु ठाङ्ठाङ्ठुङ्ठुङ गर्दै । घरका ठूला मान्छेहरु पनि रागे भैसकेका थिए । उनीहरुलाई आफ्ना दामलीसँग कुरा जोत्न जानु थियो । हामीलाई त्यति वास्ता गरेनन् । हामीहरुलाई सुत्न भनियो । त्यसैले सुत्नको लागि दिकी बैनीले व्यवस्था गरेअनुसार तीनतिर बाँडियौँ । म र एकजना इन्जिनियर साहेबचाहिँ त्यही घरमा सुत्ने पक्का भयो । साथीहरु आ-आफ्नो बाटो लागे दिकी बैनीले प्रबन्ध गरेतिर । घरका मान्छेहरु हामीलाई छोडेर लाखापाखा लागे रमाइलो गर्न । त्यो घरमा जहाँ खाना खाइयो, हामी दुईजना मात्र रह्यौँ । नयाँ ठाउँ नयाँ गाउँ फेरि बाहिर 'फुटुक'को नाचगानाको हल्ला । त्यति निद्रा लागेन । म सुत्न सकेको थिइन । इन्जिनियर साहेब पनि त्यति सुतेजस्तो त लगेको थिएन । त्यस्तै ११ बजेको हुँदो हो, एक्कासी ठूलो होहल्लाको आवाज आयो । कोही रोएको अनि कोही कराएको, चिच्याएको जस्तो आवाज थियो । त्यति नै खेर घरका मान्छेहरु पनि गुन्गुन् गर्दै घरभित्र आए र बाहिर ननिस्किनु है सरहरु भनेर फेरि बाहिरै गए । हामी नयाँ भएकोले हामीलाई बाहिर खतरा हुन्छ भनेर ननिस्किनु भनेका रहेछन् कुरो बुझ्दा । झगडाको कारणचाहिँ केटीकै रहेछ । भगवानको दरबारमा पनि केटीको बारेमा ठूला संग्राम भएको पढ्न पाइन्छ । झन् मान्छेको बस्तीमा, समाजमा त्यो नहुने त कुरै हुँदैन । त्यहाँ पनि त्यै भएछ कुरो बुझ्दा । अघि 'गुम्बा'मा फुटुक मनाउदा धेरै जाँड, रक्सी खाएछन् केटाहरुले । जाँडको सुरमा केटीको विषयमा वादविवाद भएछ । वादविवादकै सिलसिलामा लाठेहरु अर्थात् भालेहरु लाप्पा अर्थात् कक् फाइट खेल्न थालेछन् । त्यही क्रममा एकापसमा छुरी हानाहान समेत भएछ । तिनीहरुलाई पुलिसले पक्राउ गरेछ । त्यसैको निहुमा चौकी घेर्न केटाहरु हूल बाँधेर हल्ला गर्दै रहेछन् । जाँड धेरै हुँदै गएपछि पूराना कुराहरुको सम्झना हुनथाल्दो रहेछ अनि त्यो नै झगडाको बीउ हुँदो रहेछ । अर्कातिर सँगै जाँड खानेहरुमा त्यस्तै घटना भएछ । जाँड नखाँदा सँगै व्यापार गर्ने साथीहरु जाँड लागेपछि हिसाबकिताब गर्न लागेछन् । जाँडले खाएको बेला मान्छेको दिमागले कहाँ काम गर्नसक्छ ? कुरा मिलेन, त्यहाँ पनि जेले पायो त्यैले हानाहान् शुरु भएछ । झगडियामध्येएकजनाचाहिँ बुढो मान्छे परेछ अर्को अधवैंशे । फेरि तिनीहरु नाताकै मान्छे परेछन् । अधवैंशेचाहिँ हामी बसेकै घरको ज्वाइँसाहेब पो परेछन् । अर्का बुढा मान्छे घरका बुढाका सम्धी रहेछन् । पर्नु फसाद परेको रहेछ हामी बसेको घरको बुढालाई । झगडाले उग्र रुप लिएपछि ज्वाइँ र सम्धी दुबैलाई पुलिसले चौकीमा लगेर थुनेछ । ती ज्वाइँको भाइ 'फुटुक'को साइत पारेर 'ओलाङ्चुङ्गोला' आएको रहेछ । उसलाई यताको बारे त्यति थाहा रहेनछ । पुलिसले दाजुलाई पक्राउ गरेपछि त ऊ अत्तालिएछ । दाजुलाई पुलिसले राती नै मार्छ जस्तो लागेछ । उसले दाजुलाई सार्है माया गर्दो रहेछ । ऊ रुँदै तिब्बतीयन भाषामा भन्दै थियो-"बरु मलाई थुन, मलाई मार तर मेरो दाजुलाई छोडि दे । म अहिले नै दाजुलाई लिएर तिब्बत जान्छु । कति पैसा लाग्छ देऊ भाउजू तर मेरो दाजुलाई पुलिसको चौकीबाट निकाली देऊ !" यसो भन्दै त्यो तिब्बतीयन भ्राता छाती पिटी पिटी रुँदो रहेछ । उसको आवाजले सिँगै 'ओलाङ्चुङ्गोला बजार' थर्किएको थियो । माया पनि अचम्मकै हुँदो रहेछ । न लाज लाग्छ न डर नै लाग्छ । ऊ त नौलो मान्छे नौलो ठाउँमा फेरि पनि सबैभन्दा ठूलो बोल्न सकिरहेको थियो । छोरीको घर सँगै जोडिएको थियो । हाम्रा केही साथीहरु त्यही घरको एउटा भागमा सुत्न गएका थिए । हामी अलि वर थियौँ र त गार्हो भयो भने उहाँहरुलाई कस्तो भयो कल्पना गर्न सकिने कुरो हो । हामी बसेकै घरसँग झगडाका पक्ष सम्बन्धित् भएकाले सुत्नसक्ने त कुरै भएन । रातभरी कचहरी बस्यो । कहिले को आउथ्यो कहिले को जान्थ्यो त्यसको हेक्कै रहेन हामीलाई । हामीलाई चासो हुनु पनि सम्भव थिएन किनभने हामी त पाहुना मात्रै थियौँ । त्यसैले ओढ्नेले मुख छोपेर जबर्जस्ती सुतेको अभिनय गर्यौँ तर मरे निद्रा लागेन । एकछिन पछि त तिब्बतीयनहरु भेला भएर 'ओलाङ्चुङ्गोलावासी'सँग युध्द लड्न पो तयार भए । पूरै बजार कोलाहलमय भयो, अशान्त भयो । पुलिसले नियन्त्रण गर्न सकेन । 'फुटुक' भएकोले टाढा टाढाबाट पनि मान्छेहरु आएकोले मान्छेहरुको सङ्ख्या धेरै थियो । उज्यालो हुनेबेलामा तिब्बतीयन भ्राता रुन छोड्यो । हामी सुत्ने प्रयासमा थियौँ तर सकेनौँ । त्यो दिनको सुताइ मात्रै अभिनयमा टुङ्गियो ।
राती हिउँ परेको रहेछ । हुन त राती पिसाब फेर्न बाहिर निस्कँदा अचाक्ली जाडो थियो । बाहिर चूक घोप्ट्याएजस्तो अँध्यारो भएकोले केही देखिएन । वारिपारिका डाँडाहरु पूरै सेताम्मै देखिए बिहानीपख । हामी जहाँ बसेका थियौँ त्यो घरको वरिपरि पनि हिउँ जमेको थियो । जङ्गलका रुखहरु एकप्रकारले सजाइएका क्रिसमसका रुखजस्ता सेता र मनमोहक लाग्दथे । जाडो ह्वात्तै आकाशिएको अनुभव हुन्थ्यो । हामी पहाड र मधेसका मान्छे कञ्चनजङ्घाको फेदमा पुगेकाले हिउँ हेर्न पाइने कुरामा करिब करिब विश्वस्त थियौँ तर पुगेको भोलिपल्टै हिउँ देख्न पाइला भन्ने सोचेका थिएनौँ । हामी जाडो मान्दै ब्रस गर्न र मुख धुन धारातिर बढ्यौँ । धाराको टुटी राम्ररी बन्द नहुने रहेछ । सधैँभरी पानी अलिअलि झरिरहने रहेछ । त्यसैले राती हिउँ परेपछि तापक्रम शून्यभन्दा तल झरेर पानी झर्दाझर्दै जम्न गएछ । धाराको टुटीमा शिशाजस्तो भएर पानी जमेर झुण्डिएको थियो । त्यसरी शिशाजस्तो जमेको हिउँलाई हिर्काएर झारेपछि मात्र धाराबाट पानी आयो तर पानी झर्ने ठाउँमा हिउँ जमेकोले चिप्लो भएको रहेछ । म आफैँ झण्डै लडेको ! धारामा शेर्पाका नानीहरु पनि पानी भर्न आएका थिए । एकजना सानो भाइ धारानिर जमेको हिउँमा चिप्लेर मज्जाले पछारियो । लाज लागेछ क्यार ! जुरुक्क उठेर यताउति नहेरि आफ्नो बाटो ततायो त्यो सानो भाइले । पानी साह्रै चिसो थियो । छुने हिम्मत गर्न नै गार्हो थियो । के गर्नु ! मुख धुनै पर्थ्यो । न्वारनदेखिको बल जोहो गरेर मुख धोइयो । गाला र हात चिसोले गर्दा चेतनाशून्य भएका थिए । गजब त के भयो भने अबेर गरी घाम लाग्यो । वरिपरिको दृश्य अति सुन्दर देखियो । टाढा-टाढासम्म हिउँले ढाकिएका पहाड र हिमालहरु देखिन्थे । 'ओलाङ्चुङ्गोला'का घरहरुका छानाहरुमा हिउँका थुप्रा थिए । हामी हिउँ देखेर जाडो मान्दै भए पनि रोमाञ्चित थियौँ । 'ओलाङ्चुङ्गोला'मा हिउँ पर्छ भनेर हामीले काठमाडौँबाटै पूरा बन्दोबस्त गरी लत्ता-कपडा र खानेकुरा लगेका थियौँ । हिउँ परेपछि 'ओलाङ्चुङ्गोला'वासी त्यति बाहिर निस्कँदा रहेन छन् । हिउँ परे तापनि दिउँसो मौसममा सुधार आयो । हामी त काम गर्न गएका मान्छे, काम गर्नु नै थियो । हामीले खाना खाएर फिल्डमा खट्ने योजना बनायौँ । सर्वेक्षण गर्ने सर्वेयर टोली आफ्ना सामाग्री लिएर आफ्नो क्षेत्र जाने तय भयो । उनीहरुको साथमा उनीहरुलाई सघाउन भनेर स्थानीय शेर्पा लाठेहरुको व्यवस्था गरियो। जङ्गलामा गइ सर्वेक्षण गर्नुपर्ने भएकोले झाडी काट्न बन्चरो, खुकुरी र अन्य आवश्यक सामाग्रीको व्यवस्था भयो । उनीहरुको साथमा उनीहरुलाई सघाउन भनेर स्थानीय शेर्पा लाठेहरुको व्यवस्था गरियो । जङ्गलमा गइ सर्वेक्षण गर्नुपर्ने भएकोले झाडी काट्न बञ्चरो, खुकुरी र अन्य आवश्यक साधनको व्यवस्था भयो । त्यस्तै गरी जिओलोजी, हाइड्रोलोजी र सिभिल तर्फका प्राविधिकहरुको कार्य क्षेत्र पनि निर्धारण गरियो । उनीहरुलाई चाहिने सामाग्री, साधन र सहयोगीहरुको पनि व्यवस्था मिलाइयो । खाजा खाएपछि उनीहरु आ–आफ्नो निर्धारित कार्य क्षेत्रतिर लागे । मचाहिँ सिभिल इन्जिनियर, हाइड्रोलोजिष्ट र सहयोगी शेर्पा लाठेहरुसँग ‘ओलाङचुङगोला बजार’ उत्तर ‘जदाक’ भन्ने ठाउँतिर लागेँ । हामीले नदीको पानीको हाइड्रोलोजीको परिक्षण गर्नु थियो । उक्त कार्यको लागि नदीको पानीमा ‘गेज मिटर’ स्थापना गर्नु थियो । अपरान्हपछि मौसम पनि एकाएक बिग्रियो । जाडो बढ्यो । स्थानीय र ताप्लेजुङबाट लगिएका कामदार लाठेहरुलाई पनि जाडोलाई जितेर काम गर्ने साहस बटुल्न हम्मेहम्मे परिरहेको थियो । ताप्लेजुङबाट लगिएका कामदार लाठेहरुमध्ये कतिले त हिउँ पर्ने ठाउँमा काम गर्न नसक्ने जाहेरी गरे । केहीले चाहिँ तमोरको देब्रे किनारमा आगो फुके र ताप्ने काम गरे । राती अबेरसम्म काम गर्दा पनि ‘गेज मिटर’को लागि ठाउँ तयार गर्न सकिएन । धेरै काम गर्ने भनेर योजना बनाइएको भए पनि ‘गेज मिटर’ स्थापनाको लागि ठाउँ तयार गर्न र पानीको करेण्ट नाप्नमा नै त्यो दिन बित्यो । साँझ परेको र जाडोले हात कठ्याङग्रिन थालेकोले भोलि गरौँला भनेर ‘ओलाङचुङगोला बजार’ फर्कियौँ ।
भौगोलिक अवस्थिति: ‘ओलाङचुङगोला’ विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङघा क्षेत्रबाट उत्पन्न भइ बग्ने प्रसिद्ध हिमनदी ‘तमोर नदी’को देब्रे किनारमा अवस्थित् छ । ‘ओलाङचुङगोला’ तमोर नदीको उदगमस्थलतिरै छ भन्दा पनि हुन्छ । यो उच्च हिमाली क्षेत्रमा छ । ‘ओलाङचुङगोला’ समुद्र सतहदेखि ३२०० मिटरको उचाईमा रहेको छ । तमोर नदी ठाडो र वेगवान भएकोले गहिरिएर बगेको छ । नदी गहिरिएर बगेकोले नदीको वरिपरि अग्लाअग्ला डाँडाहरु छन् । हेर्दा खोँचजस्तो लाग्ने तमोर किनारमा ओलाङचुङगोला’ रहेको छ । त्यहाँ खेत कतै देखिदैन न त कतै खेतीयोग्य बारीका पाटा अथवा टार नै देखिन्छन् । पूरै ‘ओलाङचुङगोला’ क्षेत्र गेग्य्रान अर्थात् ढुंगैढुगाले भरिएको देखिन्छ । ‘ओलाङचुङगोला’ तमोर नदीको देब्रे किनारमा ठूलो पहराको फेदमा बसेको छ । ‘ओलाङचुङगोला’को वरपर र तमोरको वारिपारि हिमाली कोणधारी जातका रुखहरुको घना जङगल पाइन्छ तर बस्तीमा भने पहाड अर्थात् तराईको जस्तो घर–करेसामा हरिया बोट, बिरुवा देखिदैन । ‘ओलाङचुङगोला’ गाउँ पूरै उजाड काठहरुको थुप्रोजस्तो देखिन्छ बाहिरबाट जानेहरुलाई । बाटामा टिठ्लाग्दा ढुंगा ओछ्याइएका छन् । ‘ओलाङचुङगोला’ उत्तर–दक्षिण भएर फैलिएर रहेको छ । उत्तरतर्फबाट चीनको तिब्बत प्रान्तको ‘ल्हासा सहर’ जाने बाटो छ भने दक्षिणतर्फ ताप्लेजुङको सदरमुकाम ‘फुङलिङ’ झर्ने बाटो रहेको छ । पूर्वतर्फ पहराको भित्ता र जङगल छ भने पश्चिमपट्टी तमोर नदी बगेको छ ।
बसोबास र जनसङ्ख्या: ‘ओलाङचुङगोला’ शतप्रतिशत शेर्पाहरुको मात्रै बसोवास भएको ताप्लेजुङ जिल्लाको हिमाली गाउँ विकास समिति हो । त्यहाँ प्रायः वालुङ थरका शेर्पाहरु बस्दा रहेछन् । गजबको कुरा त गा. वि. स. का ९ वटा वडाहरुमध्ये ८ वटा वडाहरु एकै ठाउँमा झुरुप्प भएर रहेका रहेछन् । ९ नम्बर वडा भने ‘ओलाङचुङगोला बजार’बाट झण्डै एकदिनको दूरीमा रहेको छ । उक्त वडालाई 'याङमा' भनिदो रहेछ । त्यहाँ पनि ज्यादै थोरै मात्र मानव बस्ती रहेको तथ्य ‘ओलाङचुङगोला बजार’ बासीको भनाइ छ । गाउँ विकास समितिको नामाकरण पनि ‘ओलाङचुङगोला’बाटै भएको रहेछ । ‘ओलाङचुङगोला’ गाउँ विकास समितिका ८ वडाहरुको सिमाना घरका आँगन अनि करेसाहरुले छुट्टिदा रहेछन् । ‘ओलाङचुङगोला बजार’को जनसङ्ख्या १७० देखि १८० जना भएको त्यहाँका मान्छेहरुले बताए । गाउँ विकास समितिको कूल जनसङ्ख्या करिब २०० जनाको हाराहारीमा रहेको छ । ‘ओलाङचुङगोला बजार’ अर्थात् ८ वडाहरुमा करिब ७० देखि ८० जना मान्छेहरु मात्रै स्थायीरुपमा बसोवास गर्दा रहेछन् । अरु मान्छेहरुको घरजग्गा अर्थात् अचल जायजेथा त्यहीँ रहेको पाइन्छ तर मान्छेहरुचाहिँ व्यापार र अन्य उद्देश्यले काठमाडौँ, फुङलिङ बजार, फिदिम बजार, इलाम, तराई र मुग्लानतिर पलायन भएको देखिन्छ ।
प्राकृतिक स्रोत, साधन र उत्पादन
जलस्रोत: सिँगै ताप्लेजुङ जिल्ला पूर्वी पहाडी अर्थात् यसो भनौँ मेची अञ्चलका पहाडी जिल्लाहरुमा सबैभन्दा धेरै जलका स्रोतहरु रहेको जिल्लाको नामले प्रख्यात छ । नेपालका नाम चलेका प्रमुख नदीनालाहरुमा ताप्लेजुङ जिल्लामा मात्रै तमोर, सिम्बुवा, घुन्सा, मैवा, काबेली, याङमा, मेवा, फावाजस्ता थुप्रै नदीहरु रहेका छन् । तीमध्ये प्रसिद्ध सप्तकोसी नदीको प्रमुख सहायक नदी तमोर र तमोरको सहायक नदी ‘याङमा’ नदी ‘ओलाङचुङगोला’ गाउँ विकास समिति भित्रै पर्दछन् । यी जलका स्रोतहरुबाट हजारौँ मेगावाट जलविद्युत शक्ति निकाल्न सकिने भएकोले यहाँका सबैखाले नदीहरु प्रायः विद्युत उत्पादन गर्ने उद्देश्यले दर्ता भइसकेका छन् । ‘ओलाङचुङगोला’मा मात्रै हालको तथ्याङ्कले करिब २००० मेगावाट बिजुली उत्पादन हुने देखाउछ ।
जडीबुटी, वन पैदावार: ‘ओलाङचुङगोला’ उच्च हिमाली क्षेत्रमा अवस्थित गाउँ विकास समिति भएको कारणले गर्दा हिमाली जडीबुटी र वन पैदावारका हिसाबले सवल देखिन्छ । यहाँ प्रसिद्ध शिलाजित, यार्सागुम्बा, पाँच औँले, कुडकी, जटामसी, विषमा, भिमसेनपाती, भैरुङपाती, धुपी सल्ला, चुत्रोजस्ता जडीबुटी र वन पैदावार पाइन्छन् । यी त भए हामीले सुनेजानेका केही औषधिजन्य वनस्पति र खानीजन्य पदार्थहरु । हामीले नसुनेका र नजानेका तर औषधिजन्य वनस्पति र खनिजहरु ‘ओलाङचुङगोला’को डाँडाकाँडा र पर्वतहरुमा यत्रतत्र छरिएर रहेको विश्वास गर्न सकिन्छ । यीबाहेक यहाँ थुप्रै दुर्लभ जडीबुटी र वन पैदावारहरु पाइन्छन् । सिँगै ‘ओलाङचुङगोला’ गाउँ विकास समिति औषधिजन्य वनस्पति र खनिजहरुले भरिभराउ छ भन्दा अतिशयोक्ति हुनेछैन । त्यहाँका वनस्पतिहरु र खनिज कुनै न कुनै रोगको निमित्त औषधि बन्न सक्छन् । आश्चर्य लागेको कुरा के भने हामी पहाड र मधेसमा धान, मकै र अन्य अन्नबालीको आँगनमा बिस्कुन सुकाउँछौ तर त्यहाँ बाटैभरी पाँच औँले, कुडकी, जटामसी, विषमा, भिमसेनपाती र भैरुङपातीजस्ता औषधिजन्य जडीबुटीको बिस्कुन सुकाइदो रहेछ । ‘ओलाङचुङगोला’को प्रमुख आयस्रोत भनेकै औषधिजन्य जडीबुटी रहेछ ।
पशु पालन: त्यहाँ याक, चौँरी, भेडा र बाख्रा पालन गरिदो रहेछ । याक र चौँरी त्यस क्षेत्रका भरपर्दा एक मात्र ढुवानीका साधन रहेछन् । याक भारी बोक्न, ऊन र मासुको लागि पालिदो रहेछ । चौँरीचाहिँ भारी बोक्न, दूध, ऊन र मासुका लागि पालिदो रहेछ । ‘ओलाङचुङगोला’को राडी-पाखी, गलैँचा निकै प्रसिद्ध छ । त्यसैगरी चौँरीको दूधबाट बनाइने ‘ओलाङचुङगोला’को छुर्पी नेपालभरी मात्र नभएर सीमापारसम्म प्रसिद्ध छ । ‘ओलाङचुङगोला’ नेपालको सुदूरपूर्व–उत्तरमा पर्ने प्रमुख भन्सारको नाका भएकोले त्यहाँको छुर्पी लगायतका दूधजन्य उत्पादनहरु हिमालपारिको देश चीनको स्वशासित प्रान्त तिब्बत अन्तर्गतका ल्हासा लगायतका अन्य प्रमुख सहरहरुमा पुग्दो रहेछ । त्यहाँ पालिने अन्य घरपालुवा जनावरहरुमा भेडा, बाख्रा र च्याङ्ग्रा हुन् । यी पशुहरुचाहिँ विशुद्धरुपमा मासुकै लागि पालिदा रहेछन् । यी पशुहरु हिमालपारि चीनको स्वशासित प्रान्त तिब्बतमा लगेर बेचिदा रहेछन् । त्यहाँको जमीन खेतीको निमित्त उपयुक्त नभएकोले त्यहाँका मानिसहरुको आर्थिक जीवन जङगलका जडीबुटी खोज्नु, याक, चौँरी, भेडा, बाख्रा र च्याङ्ग्रा पालन गर्नु अनि तिनलाई हिमालपारिको देश चीनमा लगेर बेच्नु रहेछ ।
हिउँद लागेपछि विशेषगरी हिउँ पर्न थालेपछि औल (तमोर र याङमा नदीको तल्लो भाग जहाँ गर्मी हुन्छ)तिर गोठ झार्ने चलन रहेछ । गर्मी अर्थात् वर्षा याम शुरु भएपछि औलबाट लेकतिर अर्थात् तमोर र याङमा नदीको शिरतिर गोठ सार्ने गरिदो रहेछ । उभो लेकहुँदै हिमालतिर गोठ सार्दासार्दै झण्डै आधा वर्ष बित्दो रहेछ । त्यतैबाट हिमालपारिको देश चीनका ल्हासा लगायतका अन्य सहरहरुमा जडीबुटी, औषधि, राडी–पाखी, दूधबाट बनेका दूधजन्य खानेकुराहरु, भेडा, बाख्रा र च्याङ्ग्राहरु बेचेर ‘ओलाङचुङगोला’ झर्नु त्यहाँका मानिसहरुको वार्षिक कार्यतालिका बन्दो रहेछ ।
धर्म:' ओलाङचुङगोला'बासी सबैले बौद्ध धर्म मान्दा रहेछन् । बजारको भित्ता अर्थात् माथि अग्लो ठाउँमा ‘दिकी छ्योलिङ’ गुम्बा रहेको छ । स्थानीयबासीको भनाइअनुसार त्यो गुम्बा नेपालका पुराना गुम्बाहरुमध्येको एक हो । त्यो गुम्बा रहेको ठाउँबाट ‘ओलाङचुङगोला बजार’ पूरै देख्न सकिन्छ । त्यहाँ धर्मकर्म गर्नको लागि एक मात्र गुम्बा रहेको छ । लामाहरु नै गुम्बाका सर्वेसर्वा हुँदारहेछन् ।
सञ्चार: ‘ओलाङचुङगोला बजार’मा एउटा भि. एच. एफ. प्रणालीको फोन सुविधा उपलब्ध छ । घाम लागेको बेला ब्याट्री चार्ज गरिदो रहेछ । त्यसरी चार्ज गरिएको ब्याट्रीको चार्ज नसकुञ्जेल नेपाललगायत संसारका कुनै पनि मुलुकमा फोन गर्न र रिसिभ गर्नको लागि सेवा बजारको सिरानमा रहेको पसलमा उपलब्ध छ । चार्ज सकिएपछि भने भोलिपल्टको घाम कुर्नुबाहेक कुनै विकल्प बाँकी नरहँदो रहेछ ।
स्वास्थ्य: ‘ओलाङचुङगोला’मा एउटा पनि स्वास्थ्य चौकी छैन । त्यहाँका मानिसहरुलाई उनीहरुको भगवान र विधाताले प्रकृतिमार्फत वनमा उपलब्ध गराएको जङगली जडीबुटीबाहेक उपचारको लागि थप सुविधा केही पनि छैन । ज्वरो आउँदा खाने ‘सिटामोल’सम्म पनि उपलब्ध छैन त्यहाँ । फेरि पनि ती मानिसहरु पनि एक्काइसौँ शताब्दिका मानिस हुन् । कस्तो विडम्बना ! वनमा उपलब्ध औषधिजन्य जडीबुटीबाट जतिसम्म बाँच्न सम्भव हुन्छ त्यतिलाई नै आफ्नो आयु मान्न विवस छन् एक्काइसौँ शताब्दिका ‘ओलाङचुङगोला’का मानिसहरु । उनीहरुलाई आफ्ना मानिस बिरामी पर्दा भगवानको नाम लिदै टुलुटुलु हेर्नु र रुनु शिवाय केही सुविधा छैन । हामी त्यहाँ रहँदा एउटा बच्चा उच्च ज्वरोबाट थलिएको थियो । बच्चा सानै थियो । शरिरैभरी खटिरा आएको थियो । निमोनियाँ पनि भएको जस्तो लाग्थ्यो । त्यस्तो हृदय विदारक अवस्थाको मुक दर्शक शिवाय हामी पनि केही बन्न सकेनौँ किनभने हामी पनि परदेशी थियौँ । हामीसँग भएको सिटामोल ख्वाउनको लागि दियौँ । त्यसबाट खासै रोकथाम भएन । हामीसँग ती बच्चाको लागि काममा आउने अरु औषधि थिएन । बच्चाको अवस्था अति नाजुक बन्दै गएकोले हामीले नजीकैको स्वास्थ्य चौकीमा तुरुन्तै लगिहाल्नुहोस् भन्यौँ । नजीकैको स्वास्थ्य चौकी करिब ‘ओलाङचुङगोला बजार’बाट दक्षिणतर्फ एकदिन मज्जाले हिड्दा मात्र पुगिने दूरीमा रहेछ । त्यो ठाउँलाई ‘लेलेप’ भनिन्छ । त्यो छुट्टै गाउँ विकास समितिमा पर्छ । रोग त उही हो नि ! भनेको समयमा स्वास्थ्य कार्यकर्ता नपाइने । सरकारी जागिर न हो। मन लागे कार्यालय गयो नभए घरैमा बस्यो, तलब थाप्न जिल्ला सदरमुकाम गए भैहाल्ने ! नेपालका सरकारी कर्मचारीलाई जतिको सुविधा शायदै स्वर्गका राजाहरुलाई हुन्छ होला ! ‘लेलेप’मा आक्कल–झुक्कलमा मात्रै स्वास्थ्य कार्यकर्ता स्थानीय मान्यतामा डाक्टर भेटिदा रहेछन् । कस्तो आपत् ! त्यहाँ डाक्टर छन् कि छैनन् भनेर सोध्नलाई भरपर्दो सञ्चार छैन । छन् भनेर थाह पाएर हिड्दा पनि आफू बिरामी लिएर त्यहाँ पुग्दा डाक्टरले बाटो तताइसकेका हुन्छन् । यस अर्थमा ‘ओलाङचुङगोला’का जनताको बाँच्न पाउने अधिकार र बिरामी पर्दा स्वास्थ्योपचार पाउनुपर्ने मौलिक अधिकार दिनमा राज्य पूरै अनुदार र विभेदकारी देखिन्छ ।
उर्जा / बिजुली: निकै वर्ष पहिले ‘ओलाङचुङगोला बजार’मा २० किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सम्पन्न भएको रहेछ । त्यो आयोजना स्थानीयबासीलाई ‘बाँदरको पुच्छर लौरो न हतियार’ भएको रहेछ । पावरहाउस छ तर बिजुली बल्दैन अनि भएन त त्यो आयोजना उनीहरुलाई ‘बाँदरको पुच्छर लौरो न हतियार !' आयोजना सञ्चालनार्थ प्राविधिकको अभावले त्यो आयोजना सम्पन्न भएको केही समयमा नै बन्द भएको रहेछ । भएछ के भने त्यो आयोजना सञ्चालनको जिम्मा त्यहीँको कोही मान्छेलाई सामान्य सञ्चालनको ज्ञान दिएर खटाइएको रहेछ । जाडो ठाउँ त्यसमाथि बिना प्राविधिक कसरी चल्न सक्थ्यो र पावरहाउस ! हिउँदमा हिउँ परेछ । पेन स्टक पाइपमा पानी जमेर पाइप बन्द भएछ । सावधानी अपनाउने बेलामा होसियारी पुगेन । जब हिउँ जम्यो, पाइपमा पानी जम्यो तब मात्रै पाइपबाट जमेको पानी हटाउन पेनस्टक पाइपको बाहिरबाट ढुङगाले, घनले ठट्टाउने काम भएछ । ठट्टाइबाट पाइपको बेहाल भयो । पाइप काम लागेनछ । त्यसको असर मेसिनको अन्य भागमा पनि परेछ । त्यसैले पावरहाउस बन्द भएको रहेछ । वर्षौँ बितिसक्दा पनि त्यो पावरहाउसको मर्मत नगरिएकाले त्यहाँका जनताहरु पावरहाउस हेर्दै घरघरमा टुकी बाल्दा रहेछन् ।
बजार र सामानको उपलब्धता: ‘ओलाङचुङगोला बजार’ एउटा गाउँजस्तो छ । यो बजार पूरै तिब्बतीयन सामानहरुमा भर परेको रहेछ । लत्ता–कपडा, दाल, चामल, नून, तेल, पेय पदार्थ, सूर्तिजन्य उत्पादन, औषधि, खेलौनाका सामान, रेडियोलगायत इलेक्ट्रोनिक सामानहरु, साबुन, मरमसलाजस्ता दैनिक उपभोग्य वस्तुहरु प्रायः सबै तिब्बतबाटै आयात गरिदो रहेछ । ‘ओलाङचुङगोला बजार’बाट जडीबुटी, राडी–पाखी, छुर्पी, याक, चौँरी, भेडा, बाख्रा हिमालपारिको देश चीनको स्वशासित क्षेत्र तिब्बतमा बेच्न लाने गरिदो रहेछ । तिब्बतीयन व्यापारीहरुको नेपालमा चीनीयाँ उत्पादन बेच्ने एक प्रमुख स्थल वा केन्द्र नै रहेछ ‘ओलाङचुङगोला बजार ।'
रीतिरिवाज / प्रथा: ‘ओलाङचुङगोलाका’ शेर्पाहरुको विवाह पनि नेपालका गुरुङ र तामाङहरुको जस्तै ‘मामा चेला र फुपु चेला’ भित्रै चल्दो रहेछ । कुटुम्बेरी गर्न उनीहरुलाई टाढाको बाटो हिड्नु नपर्ने रहेछ किनभने गाउँ विकास समितिका आठ वटा वडाहरु एकै ठाउँमा गुजमुज्ज परेर रहेका छन् । माथि उल्लेख गरिएअनुसार वडाहरुको सिमाना घरका आँगन र करेसाबारीले छुट्याइएको छ । ससुराली र माइती जान मिनेट पनि नलाग्ने रहेछ त्यहाँ । चाहना हुनेले हिमालपारिको देश चीन (तिब्बत)बाट पनि बुहारी ल्याउने र छोरी दिने चलन रहेछ । तिब्बतीयनहरु ‘ओलाङचुङगोला’का शेर्पिनी चेलीहरुलाई मनपराउदा रहेछन् स्थानीय मानिसहरुको कुरो बुझ्दा । चाडपर्वमा ‘बुद्ध जयन्ति’ र ‘फुटुक’ उत्साहका साथ मनाइदो रहेछ ।
सुरक्षा: सुरक्षालाई भनेर नेपाल प्रहरीको चौकी रहेछ । उक्त चौकीमा हवल्दारको कमाण्डमा ७–८ जना प्रहरी जवान रहेको जानकारी पाइयो । प्रहरीको भनाइअनुसार शान्ति सुरक्षाको लागि खटेका प्रहरी नै उल्टै स्थानीय मानिसहरुको सुरक्षामा रहनुपर्ने स्थिति रहेछ । यसको कारणचाहिँ भौगोलिक विकटता, भरपर्दो सञ्चारको अभाव र नजीकमा प्रहरीको अर्को चौकी नरहनु नै रहेछ । स्थानीय मानिसहरुको सल्लाह नमाने कतिखेर मारिने हो पत्तै हुन्न रे ! हुन पनि हो, अति विकट त्यसमाथि जिल्ला सदरमुकामदेखि ६ दिनको हिडाइमा मात्र पुग्न सकिने स्थान । ७०–८० जनाको हूलको अघि के नै गर्नु र ७–८ जना जवानले ! तर त्यस्तो अवस्थाको कहिल्यै सामना गर्नु नपरेको भनाइ पाइयो त्यहाँ कार्यरत प्रहरी प्रमुख र जवानहरुको । उनीहरु उल्टै रमाइरहेका पाइयो । मात्र उनीहरुलाई घरको सम्झनाले सताउदा नरमाइलो लाग्ने बताए । स्थानीय शेर्पाहरु मिलनसार भएको कुरा प्रहरी जवानहरुले हामीलाई बताए । एकप्रकारले प्रहरीहरु घरका सदस्यजस्ता लाग्थे । नेपाल भगवानको सुरक्षामा छ । प्रहरीहरु बसेकै छन् । स्थानीयबासीहरुलाई प्रहरीमाथि विश्वास अनि आस्था छ साथै भरोसा पनि ।
भन्सार: ‘ओलाङचुङगोला बजार’मा नेपालको पूर्वोत्तरको प्रमुख भन्सार रहेको छ । सरकारी दरबन्दी करिब ११ जनाको रहेको जानकारी भयो तर पियनबाहेक कोही कार्यालयमा बस्दा रहेनछन् । पियन हुनुपर्ने कारणचाहिँ स्थानीय व्यक्तिले जागिर खाँदा रहेछन् । तिनै पियनले भन्सार कार्यालयको सबै काम गर्दा रहेछन् । भन्सारको पियन त्यहाँ ठूलो हाकिम मानिदो रहेछ । उसको गाउँमा निकै शान हुँदो रहेछ । कुनै ऐन, कानुन, नियमको कामै रहेनछ त्यहाँ । हामी जतिखेर भन्सार कार्यालय पुगेका थियौँ त्यतिखेर भन्सार कार्यालयको ढोकामा भोटे ताल्चा झुण्डिएको थियो । कार्यालय खोल्नु र बन्द गर्नु अनि भन्सार लिनु र नलिनु पियनकै तजबिजमा भरपर्ने रहेछ । हामीले वरिपरिका मान्छेसँग सोध्यौँ पियनको बारेमा र घर पत्ता लगायौँ । हामीले पियनलाई खोजेर ल्यायौँ । उनलाई कार्यालय खोल्न अनुरोध गरियो । उनले हाम्रो अनुरोधलाई सहजतापूर्वक स्वीकारिन् । पियनको पदमा स्थानीय महिला कार्यरत रहेछिन् । हामीले भन्सार कार्यालयको दैनिक कामको बारेमा चासो राख्यौँ । उनले पनि बिना झन्झट सकेसम्म र जानेसम्मका सबै कुरा भनिन् र देखाइन् पनि । उनले पुरानो दराज खोल्दै केही धुजाधुजा परेका कागजात र फाइल देखाइन् । ती सबै श्री ५ को सरकारका पालाका रहेछन् । कति त पञ्चायतकालिन बिल र भौचरहरु देख्न पायौँ । हामीले अनौठो मानेर जिज्ञास राख्दा उनले सहजै भनिन् कि माथिबाट नयाँ कागजात, बिल र भौचरहरु पठाइ दिदैनन् रे ! पियनले भनिन् उनले कहिल्यै भन्सारवापत बिल र भौचर काट्ने गरेकै छैन रे ! त्यहाँ हाकिम र अन्य कर्मचारीहरुको पोष्टीङ भए पनि कोही पनि त्यहाँ पुग्दैनन् रे ! तलब र भत्ताचाहिँ खाने गर्दा रहेछन् । सबै हाकिम र कर्मचारीहरु जिल्ला सदरमुकाम ‘फुङलिङ बजार’ मै बस्दा रहेछन् । हाजिरी खाता पियनलाई उतै झिकाएर तलब र भत्ता खानेबेलामा एकैपटक उपस्थिति जनाउदा रहेछन् । तिनीहरुको हाइसुखको जागिर पो हुँदो रहेछ ! भन्सारमा भने ती पियनले के पो गरुन् ! भन्सारको दरभाउ पनि थाह नहुने ! भन्सार उठाउन खोज्दा स्थानीय र तिब्बतीयन व्यापारीले नटेर्दा रहेछन् । आइमाइ मान्छेलाई हेप्ने चलन हिमालमा पनि त्यतिकै रहेछ । पियनको गुनासोअनुसार भन्सार माग्दा तिब्बतीयन व्यापारीहरुले तिर्दैनन् रे ! भन्सार उठाउन खोज्दा उल्टै धम्की पो दिन्छन् रे ! आफ्नो ब्रह्मले जे उचित ठान्यो त्यसै गर्छिन् रे उनी अर्थात् पियन । उनले प्रति बोरा औषधिको रु. ५ सम्म निकासी कर अर्थात् भन्सार लिने गरेको सुनाइन् ।
राजनीति: गजबको कुरा नै मान्नुपर्छ । यति दुर्गम र विकट अनि चिसो ठाउँ भएर पनि ‘ओलाङचुङगोला’मा राजनीतिको पारो निकै चढेको देख्न पाइन्छ । त्यहाँका टाठा–बाठालाई नेपालका प्रायः सबैजसो राजनीतिक पार्टीहरुको बारेमा थाह हुँदो रहेछ । जतिखेर हामी त्यहाँ पुग्यौँ त्यहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादीको प्रत्यक्ष प्रभाव परेको देखिन्थ्यो । उनीहरुले एकार्कालाई कमरेड भनेर सम्बोधन गरेको सुन्न पाइन्थ्यो । उसो त नेपाली काँग्रेस र ने. क. पा. एमालेको बारे पनि अस्तित्व नभएको होइन ।
हिन्दीको सिनेमाको प्रभाव: ‘ओलाङचुङगोला बजार’मा नेपाली गीत र फिल्मको भन्दा हिन्दी गीत र फिल्मको प्रभाव बलियो देखियो । प्रायको घरमा हिन्दी फिल्मका हिरो र हिरोइनहरुको पोष्टर टाँसेको देखिन्थ्यो । युवा, युवतीहरु हिन्दी गीत गुन्गुनाउथे । त्यसो हुनाको कारणचाहिँ त्यहाँका मान्छेहरु रोजगारी र व्यापारको सिलसिलामा सिमाना जोडिएको देश भारतको सिक्किम र दार्जिलिङ जाने चलन रहेछ ।
माथि वर्णन गरिएका कुराहरुको आधारमा ‘ओलाङचुङगोला’लाई आजको विश्वमा के ‘अचम्मको ओलाङचुङगोला’ भन्न सकिन्न र ?
******
काठमाडौँ ।
२०६७/१०/२६
ओलाङ्चुङ्गोला बजारको दृश्य



















चौँरी र याक