कविता




म खाते !



छाती पिटिरहेछु
पैसा माग्न
सडकपेटिमा
हुलका हुल मान्छेहरु
यताबाट उता
उताबाट यता
कोही रफ्तारमा
कोही मस्तीमा
गइरहेछन् आइरहेछन्
म लगातार पिटिरहेछु छाती
“भोक लाग्यो, पैसा देऊ” भन्दै
रत्नपार्कमा, सडकमा ।

म के हुँ ?
म को हुँ ?
मलाई नै थाह छैन
मान्छे भन्ने गर्छन्
म खाते हुँ रे !
जसको बाउ हुँदैन
आमाको पत्तो हुँदैन
ऊ नै खाते हो रे !

मेरा एक जोर आँखा छन्
छन् एक जोर खुट्टा पनि
त्यति मात्र कहाँ हो र ?
एक जोर कान र हात पनि छन्
सुँघ्ने नाक र खाने मुख पनि छन्
ठ्याम्मै मान्छेको जस्तै
तर
म मान्छे होइन रे !
किनभने
मेरो जात छैन
थर छैन
छैन थातथलो पनि ।

सिंगो धर्ती ओछ्याउछु
विशाल आकाश ओढ्छु
सडकको पाले मलाई
भकुण्ड्याउछ त्यहाँबाट पनि
फेरि पनि
मेरो मुटु
मान्छेको जस्तै छ
मेरो बोली
उसैको जस्तो छ
जसले मलाई खाते भन्छ ।

काटीकुटी म मान्छे
तर मान्छे होइन !
मान्छे
यो देशको नागरिक हुन्छ
म अनागरिक
किनभने
नागरिक हुन
बाउआमाको सनाखत चाहिन्छ ।

उफ् ... !
म के हुँ ?
म को हुँ ?
रनभुल्लमा छु
मान्छे होइन भन्छन् मलाई
रत्ति पनि फरक छुइन मान्छेसंग
नागरिक होइन भन्छन् मलाई
म जंगलबाट आयातित् पनि होइन ।

ल ठीकै छ
मान्छे होइन
खाते नै सही
सर्वोत्कृष्ट प्राणी
ए मान्छे !
तिमी
हिजोआज
साह्रै चिन्तित् छौ
पर्यावरण जोगाउन
गोब्रे किरा मार्दा
जेल हाल्छौ
कुखुरा चोर
स्याल मार्दा
कानून् लगाउछौ
चराचुरुङ्गी मर्छन्, भाग्छन् भनेर
ठूलाठूला आयोजना रोक्छौ
साँच्चै तिमी महान !
किनभने
म जस्ता
जो तिमीसंग
कति पनि फरक छैनौं
नाङ्गै छौं
मान्छेका हुलहरुमा
भोकै छौं
शहरहरुमा, गाउँहरुमा
तर
तिमी देख्दैनौ
भोकाएका पेटहरु
चाउरिएका फोहर
रोगले ग्रस्त अनुहारहरु
किनकि
तिमी मानवअधिकारवादी हौ
तिमीले देख्नु हुँदैन
तिमीले सुन्नु हँदैन
आफूजस्ताको रोदन
किनकि
तिमी पर्यावरणविद् हौ ।

जमिनबाट उम्रिएको
म वनस्पति होइन
न जरा न काण्ड
न पात छन् मेरा न फूल
म कसरी आएँ यो धर्तीमा ?
अब मैंले खोज्नैपर्छ
पत्ता लगाउनैपर्छ
कारण मेरो आगमनको
किनभने
म मर्न सक्दिन
कस्तै कष्टमा पनि
प्राणपखेरु उडेन
त्यसैले
मैंले बाँच्नैपर्छ
खोज्नैपर्छ मेरो सृष्टिको आधार
बिनाअस्तित्व
हुँन्न अब बाँच्न मैंले यहाँ
कसैको लैनो गाई बनेर ।

बिना बाउ, बिना आमा
सृष्टि भएन पक्कै पनि मेरो
प्रकृतिको नियम विपरित
किनभने
रुपरङ्ग, आनीबानी
मान्छेसंग ठ्याम्मै मिल्छ
हुन्न अब जिउन
बिनाअर्थको जीवन सडकमा
किनकि
म घाँस खान्न
मान्छेको जिब्रो भन्दा
फरक छैन मेरो जिब्रो ।

अब मैंले
डी. एन. ए. जचाउनैपर्छ
ठूलाठूला मान्छेहरुका डी. एन. ए. संग
रगत रातै छ
सास् तातै छ
सम्भावना ज्यूँदै छ
म मान्छे प्रमाणित हुने ।

मैंले बाउ देख्नैपर्छ
आमा पाउनैपर्छ
किनकि
जमाना वैज्ञानिक छ
कस्तै रहस्यले पनि
सुखै छैन नखुली
यो साइवर युगमा ।

बाउ–आमा पाएपछि
गर्नैपर्छ दाहसंस्कार तिनको मैंले
किनकि
तिनै हुन् खातेका भ्रुण
नमासे तिनलाई
फेरि पनि
चलिरहन्छ चक्र
खाते उत्पादनको
अन्तहीन यात्राझैं
देशलाई नै अस्तव्यस्त पार्ने गरी ।

               ***



                                                                                - भानेन्द्र सम्बाहाङफे 'जुझारु' लिम्बू